जाजरकोट । जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने ५ जना निरीक्षक र एक सहयोगी कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ। बिहीबारदेखि सुरु भएको एसईई अन्तर्गत अंग्रेजी विषयको परीक्षा सञ्चालनका जिल्लाका १६ वटै परीक्षा केन्द्रमा अनुगमन गर्दा परीक्षा व्यवस्थापनमा कमजोरी देखिएपछि ५ जना निरीक्षक र एक जना सहयोगी कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको हो ।
जसमा सरस्वती माध्यमिक विद्यालय, पुन्मा परीक्षा केन्द्रबाट ४ जना निरीक्षक र १ जना सहयोगी तथा त्रिभुवन माध्यमिक विद्यालय, खलंगा परीक्षा केन्द्रबाट १ जना निरीक्षकले परीक्षा मर्यादित, व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गर्न अपेक्षित भूमिका निर्वाह गर्न नसकेको पाइएपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख यज्ञेश्वर खत्रीले जानकारी दिए ।
उनले जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजु पौडेलको निर्देशनमा ती ६ जनालाई आजदेखि लागू हुने गरी बाँकी परीक्षा अवधिमा खटिन नपाउने गरी हटाइएको बताए। खत्रीका अनुसार यसपटक हटाइएका कर्मचारीहरूलाई आगामी वर्षहरूमा पनि निरीक्षकका रूपमा नराख्ने निर्णय गरिएको छ । परीक्षा प्रणालीलाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने आफुहरुले निरन्तर अनुगमनमा लागिरहेको उनको भनाइ छ ।