
सुर्खेत । सुर्खेत बसपार्कबाट अवरुद्ध भएको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। यातायात व्यवसायी र प्रशासनबीच सहमति भएपछि बन्द गरिएको सेवा शुक्रबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। सुर्खेत जिल्लामा सञ्चालनमा रहेका यातायात सेवा प्रदायक संस्थाबाट सञ्चालित सवारी साधनको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा प्रशासन र व्यवसायीबीच छलफल भई केही निर्णयसमेत गरिएको छ।
अत्यावश्यक सेवा अन्तर्गत पर्ने यातायात सेवालाई यात्रुमैत्री, मर्यादित, परिष्कृत, व्यवस्थित तथा व्यवसायिक सुरक्षालाई मध्यनजर गर्दै विभिन्न व्यवस्था पालना गर्ने सहमति भएको जनाइएको छ। सहमतिअनुसार सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने, यात्रुले स्वेच्छिक रूपमा तोकिएको काउण्टरबाट मात्र टिकट लिनुपर्ने व्यवस्था मिलाइने भएको छ।
त्यस्तै बसपार्क बाहिर यात्रु टिपेर पुनः बसपार्क भित्र ल्याउन नपाइने, बसपार्कबाट निस्किसकेपछि तोकिएको गन्तव्यतर्फ मात्रै प्रस्थान गर्नुपर्ने निर्णय गरिएको छ। यस्तै तोकिएको भाडादर अनुसार मात्रै भाडा लिनुपर्ने, यात्रुलाई अनिवार्य टिकट जारी गर्नुपर्ने, सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाइने तथा अनुमति प्राप्त सिटमा थपघट वा परिमार्जन गर्न नपाइने व्यवस्था गरिएको छ।
साथै जुन सवारी साधन जुन प्रयोजनका लागि दर्ता भएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने सहमति भएको छ। आज बिहानैदेखि बन्द भएको सार्वजनिक यातायात सेवा तत्काल सञ्चालन गर्ने तथा चैत १९ गते बसपार्कमा भएको विवादका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा बसेर वस्तुनिष्ठ निष्कर्ष निकाल्ने पनि सहमति भएको प्रशासनले जनाएको छ।