२०८३ वैशाख २ , बुधबार

जाजरकोटमा एसईई उत्तरपुस्तिका परीक्षणको काम सुरु



जाजरकोट । जाजरकोटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाका १६ वटा परीक्षा केन्द्रमध्ये १४ वटामा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो । सरकारले यस वर्षदेखि एसइईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने निर्णय गरेसँगै परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षणको प्रक्रिया थालिएको हो ।

नारायणी मा.वि छेडागाडस्थित कार्कीगाउँ र नलगाड नगरपालिकास्थित त्रिभुवन मावि दल्लीमा भने उत्तरपुस्तिका परिक्षणको काम सुरु भएको छैन् । यी दुई परीक्षा केन्द्रमा विषय विज्ञ ढिला पुग्दा परीक्षणको काम सुरु नभए पनि अन्य केन्द्रमा भने परीक्षाको दोस्रो दिनबाटै परीक्षण सुरु भइसकेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिए ।

‘समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार १४ केन्द्रमा परीक्षण कार्य सुरु भइसकेको छ । अन्य दुईमा विषय शिक्षक पुग्न ढिला भएकाले सुरु भएको छैन् । आजबाट सुरु हुन्छ ।,’ उनले भने, ‘उत्तरपुस्तिका परीक्षण कार्यलाई व्यवस्थित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ उत्तरपुस्तिका परीक्षण भइरहेका अधिकांश केन्द्रमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।

प्रमुख खत्रीका अनुसार जिल्लाभर शान्तपूर्वक परीक्षा सम्पन्न भएको छ र अबको लक्ष्य समयसीमाभित्रै उत्तरपुस्तिका परीक्षण कार्य सक्नु रहेको छ । उनले जाजरकोटमा यस ४ हजार ५ सय २९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएको बताए । जसमा २ हजार २ सय ४२ छात्र र २ हजार २ सय ८७ छात्रा रहेका छन् । यस वर्षको परीक्षामा छात्रभन्दा छात्रा बढी छन् । छात्रभन्दा ४५ जना छात्रा बढी रहेको प्रमुख खत्रीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार