२०८३ वैशाख ३ , बिहीबार

विमानस्थल सम्वन्धी ‘एमओयू’ बकवास

डिजीले भने : नेपालगञ्जमा एयरपोर्ट हुँदाहुँदै सुर्खेत किन चाहियो ?


असोज २४, सुर्खेत

प्रतिनिधि सभाका सांसद ध्रुवकुमार शाहीले कर्णाली प्रदेश सरकार र संघीय सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वीच सुर्खेतको विमानस्थल विस्तार सम्वन्धी भएको एमओयूलाई वकवास भन्दै कडा रोष प्रकट गरेका छन् ।
एमओयू गर्ने दिन आफुलाई वोलाईए पनि आफु दिक्क भएर नगएको उनले वताए । यो सम्झौताले कर्णालीवासीको नयाँ एयरपोर्ट वनाउने सपना तुषारापात भएको उनले वताए । नेपालगंजवालाहरुको ग्राण्ड डिजाईनमा एमओयू गरिएको उनले आरोप लगाए । विमानस्थल विस्तारसम्वन्धी योजना अघि बढे मुआव्जा विवादमै ८/१० वर्ष त्यतिकै खेर जाने उनले वताए ।
हवाई उड्डयनका निर्देशक राजन पोखरेल वर्दिया जिल्ला निवासी भएको र आफुसंगको कुराकानीमा पोखरेलले नेपालगन्जमा एयरपोर्ट हुँदाहुँदै सुर्खेतमा नयाँ एयरपोर्ट किन चाहियो भनी प्रश्न गरेको उनले स्मरण गरे ।
आफुले कर्णाली प्रदेश अलग अस्थित्वको छुट्टै प्रदेश भएको र कर्णाली कै भूभागमा क्षेत्रीय स्तरको नयाँ विमानस्थल वनाउने आफुहरुको चाहना भएको कडा शव्दमा जवाफ दिएको बताए । अहिलेका मन्त्री र डिजी पुरानाको तुलनामा सुर्खेत प्रति अनुदार रहेको उनले दावी गरे । पूर्व पर्यटन मन्त्री रविन्द्र अधिकारी सुर्खेत प्रति निकै सकारात्मक रहेको समेत उनले उल्लेख गरे ।

सुर्खेतमा एयरपोर्ट नवनोस भन्नेहरु यो संझौतावाट खुसी भएको उनको भनाइ थियो । ‘संझौताले न त नयाँ एयरपोर्टको संभावना देखायो, न पुरानोको नै स्तरोन्नती,’ सांसद शाहीले निराश हुदै भने । आफुले नयाँ क्षेत्रीय विमानस्थल वनाउन काठमाडौंमा लविङ् गरिरहेकोमा प्रदेश सरकार अति जान्नेसुन्ने वनिदिदा सुर्खेतीको सपना माटोमा मिलेको वताए ।
‘सुर्खेत प्रतिको दायित्व कर्णाली प्रदेश सरकारको पनि होला, तर त्यो भन्दा वढी नेकपा सुर्खेतको अध्यक्ष र प्रतिनिधि सभाको सांसद भएकोले मेरै वढी हुनुपर्ने हो,’ आक्रोशित मुद्रामा देखिएका शाही भने,‘सुर्खेतको भाग्यवारे अनावश्यक रुपमा फैसला गर्ने काम प्रदेश सरकारले छोड्दा राम्रो हुन्छ ।’
कर्णाली सरकारले आफुले विनियोजन गरेको वजेट र कार्यक्रमहरु समयमा गर्न ध्यान दिनुपर्ने उनले वताए । १८/२० अर्व वार्षिक वजेट हुनेले आफ्नो हैसियत वमोजिम नै काम गर्न उनले सुझाव दिए ।
नयाँ विमानस्थल वनाउन १२ अर्व रकम लाग्ने पुरानो ईष्टिमेट भएपनि अहिलेको विमानस्थल भएको रनवे वढाउन जग्गा अधिग्रहण मा मात्रै ८ अर्व लागत देखिनु विमानस्थल नवनाउने चलखेल अन्तर्गत भएको सुनियोजित षड्यन्त्र भएको शाहीले दावी गरे । हालको एयरपोर्टको जति नै रनवे वढाएपनि ‘टु वे’ रनवे नहुने प्राविधिकको रिपोर्ट रहेकोले अर्को नयाँ विमानस्थल नबनाई कर्णालीको भविष्य उज्यालो नहुने उनले दावी गरे ।
कर्णाली सरकारले नयाँ एयरपोर्ट वनाउन संघीय सरकारलाई दवाव दिनुपर्नेमा ढंग नपुगि आफै बनाउने निर्णय गरेकोले समग्र कर्णाली प्रदेश अध्यारो युगमा अझै धेरै वर्ष रहिरहने अवस्था आएको उनको भनाइ छ । ‘५० करोड कर्णालीको र १ करोड केन्द्रको छुट्याईवाट नै गाईजात्रा देखिसकेको छ,’ उनले भने ।

कर्णाली सरकार हरेक ठाउँमा चुक्दै गएको उनले आरोप लगाए । देशभर ७ वटा ठूला हस्पिटल वन्दै गर्दा पुरानो क्षेत्रीय अस्पताल संघवाट प्रदेशमा लगेकाले सुर्खेतमा मेडिकल कलेज वन्ने कुरा लगभग समाप्त भैसकेको उनले वताए । डडेलधुराको जिल्ला अस्पताल संघ मातहत रहन राजी हुने तर यत्रो संरचना भएको पुरानो क्षेत्रीय अस्पताल प्रदेशमा लगि वोर्ड झुण्ड्याउन के को हतारो थियो भन्दै उपभोक्ता समिति गठनको शैलीमा अस्पताल कव्जा गर्दा समस्या उत्पन्न भएको उनले वताए ।
वनिसकेका ठूला संरचना केन्द्रलाई चलाउन दिने र प्रदेशले नयाँ संरचना वनाउदा मात्रै कर्णालीको विकास हुने उनको धारण छ । मध्य पश्चिम विश्वविध्यालयलाई समेत कर्णाली सरकारले आफ्नो मातहत ल्याउन यसअघि चालेको कदम प्रति शाहीले विरोध जनाए ।
सुर्खेतमा नयाँ वन्ने विमानस्थल भेरीगंगा नगर पालिकाको भेरी बंबई डाईभर्सन नजिक साधीखोला देखि माथि उपयुुक्त हुने धारणा राखे । उक्त ठाउँमा १ हजार ४ सय विगाहा जमिन र ३ हजार मिटर लम्बाइ रहेको समेत उनले जानकारी दिए ।
व्यवस्थापन विषय अध्ययन गरेका शाही नेकपा एमालेको तर्फवाट २०५४ सालको स्थानीय तहको निर्वाचनमा सुर्खेतको साहारे गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
तत्कालीन नेकपा एमाले सुर्खेतको पार्टी उप–सचिव हुँदै पछि पार्टी अध्यक्षमा निर्वाचित शाही सुर्खेत जिल्ला विकास समितिको सर्वदलीय संयन्त्रमा वसेर काम गरिसकेका छन् । उनी सरकारी विकासे योजना छनौट र यसको कार्यान्वयनमा पोख्त मानिन्छन् ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिबार