२०८३ वैशाख २ , बुधबार

सरकार कुम्भकर्ण निन्द्रामा छ : महामन्त्री खड्का



सुर्खेत २ कार्तिक

कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेपाली राजनीतिका सालिन नेताका रुपमा चिनिन्छन। उनले न कुनै नेता विरुद्ध खरो टिप्पणी दिन्छन्, न त कडा आलोचना नै ! केन्द्रीय राजनीतिमा विस्तारै सत्ताको खुड्किलो चढ्दै महामन्त्री वनेका खड्का राष्ट्रिय राजनीतिका एक कुशल खेलाडी हुन।
कम चर्चामा आउने तर भित्रभित्रै गोटी चाल्न माहिर भनेर चिनिने खड्कालाई नेपाली राजनीतिमा भित्रिएको अनियमितता र अराजकता पटक्कै मन परेको छैन । आफ्नै नेतृत्वले सहमति पालना नगर्दा (सुशील कोईरालाको समयमा प्रधानमन्त्रीमा केपीलाई समर्थन गर्ने)  वेठिक भयो भन्ने खड्का नेकपा सरकारले गरिरहेका जन–विरोधी कृयाकलापहरुको विरोध गर्न थालेका छन् ।
आईतवार फेसवुक स्टाटस लेख्दै महामन्त्री खड्काले कोभिड संक्रमणको महामारीले सिङ्गो देश आक्रान्त भएको वेला सरकार कुम्भकर्ण निन्द्रामा रहेको भन्दै सरकार संचालनमा गम्भीर प्रश्न उठाएका छन् ।
उनले नेकपा सरकारले अनियमितता गरेको र जनताको जीवन रक्षामा खेलाची गरेको वताएका छन् । खड्काले सरकार आन्तरिक धन्दामा ब्यस्त रहेको उल्लेख गर्दै भनेका छन, ‘न जनताको चिन्ता छ, नत देशको नै ? सत्ताधारी पार्टी ७ महिनादेखि सत्ताको आन्तरिक छिनाझप्टी र लुछाचुडीमा ब्यस्त छ !’
उनले यो बिपत्तिको कहरमा प्रधानमन्त्री हराएको भन्दै जनताका लागि प्रधानमन्त्री र सरकार कहाँ छ भनी प्रश्न गरेका छन् । उनले जनताका लागि राहत प्याकेज खोई भन्दै सरकारको जनता प्रति जिम्मेवारी बोध नभएको कटाक्ष गरेका छन् । सरकारवाट विपत्तिको समयमा जनतालाई कुनै भरोसाको सन्देश नआएकोले सरकारी अकर्मण्यता र मौनता दुर्भाग्यपूर्ण भएको वताएका छन् ।

प्रकाशित मिति : २०७७ कात्तिक २ गते आइतबार