कार्तिक ०२, सुर्खेत
कर्णालीका मजदुरी गरेर खाने व्यक्तिहरुले यो पटकको आफुहरुको दशैँ खल्लो हुने बताएका छन् ।
कोरोना महामारीका कारण भएको लकडाउनका कारण भने जसरी काम नपाउँदा कमाई नभएको भन्दै दशैँ खल्लो हुने बताएका हुन् ।
उनीहरुले विगतका बर्षका दशैँमा दैनिक रुपमा काम पाइने गरेको भएपनि यो पटक लकडाउनका कारण साउनसम्म घरमै बस्नु परेकाले दशैँ मनाउने रकम नभएको बताएका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का दत्तप्रसाद शर्माले आफुले ज्याला–मजदुरीको काम गरेर घर खर्च टार्ने गरेको भन्दै यो पटक काम गर्न नपाउँदा दशैँ समेत खल्लो हुने बताए ।
दैलेखमा स्थायी घर भइ हाल सुर्खेतमा ज्याला मजदुरी गर्दै आएकी पवित्रा नेपालीले पनि यो पटकको दशैँ भने अनुसारले मनाउन नसकिने बताईन् ।
तर, मजदुरहरु पीडामा रहेकै बेला कर्णालीका जनप्रतिनिधिहरु, कर्णालीका सांसद लगायत स्थानीय तहका जनप्रतिनिधीहरुले दशैं भत्ता बुझेका छन् ।

कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका जनप्रतिनिधिले १५ हजारका दरले दशैं भत्ता बुझेका हुन् ।
यसका अलावा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूले पनि दशैं भत्ता बुझेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिलाई कानून नै बनाएर भत्ता बाँडिएको छ । कर्णाली प्रदेशका स्थानीय तहमा ३ हजार ६ सय ८७ जना जनप्रतिनिधी छन् ।
यसैगरी १० वटा जिल्ला समन्वय समितिका ७० जना प्रतिनिधिले समेत भत्ता बुझेका छन् ।
कर्णाली प्रदेश सभा सचिवालयले प्रदेश सभाका सदस्यहरूलाई १ महिनाको पारिश्रमिक बराबरको रकम चाडबाड खर्चका रूपमा उपलब्ध गराएको छ ।
प्रदेश सभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार बुझेका छन् । प्रदेश सभा सदस्यले भने ४५ हजार पारिश्रमिक पाउँदै आएका छन् । चालिस सदस्यीय प्रदेश सभामा ६ जना मन्त्री छन्, उनीहरूले सोही अनुसार सेवा र सुविधा लिने गरेका छन् ।
कर्णाली प्रदेश सभाका सचिव जीवराम बुढाथोकीले एक महिनाको पारिश्रमिक बराबरको दशैं खर्च प्रदेश सभाले पदाधिकारी एवं सांसदको खातामा जम्मा गरिदिएको बताए ।

यसैबिच, कर्णाली प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्टले भने यसबारेमा आफुलाई आधिकारिक जानकारी नभएको भन्दै यदि त्यसो गरिएको भए गलत हुने प्रतिक्रिया दिए ।
यस्तो विषम परिस्थितिमा समेत जनप्रतिनिधीहरुले त्यसरी रकम लिन नहुने भन्दै यो सत्य भए रकम फिर्ता गराउनतर्फ आफु लाग्ने उनले प्रतिक्रिया दिए ।
सर्वत्र आलोचना खेपेपछि संघीय संसदका केही सांसदले संसद सचिवालयले बाँडेको दशैं भत्ता फिर्ता गर्न थालेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद भीम रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेको जानकारी गराएका छन् ।
उनले पत्र लेखेर आफूलाई दिइएको दशैं भत्ता फिर्ता लिन संसद सचिवालयलाई भने लगत्तै सचिवालयले ६४ हजार ७० रुपैयाँ कात्र्तिक महिनाको पारिश्रमिकबाट कट्टा हुने जानकारी दिएको सामाजिक सञ्जाल ट्वीटरमा उनले उल्लेख गरेका छन् ।
त्यस्तै नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले आफुले पाउने दशैं खर्चवापतको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहोरालाई भ्यान्टिलेटरमा राखि उपचार गर्नु परेकोले उनलाई हस्तान्तरण गर्ने बताएका छन् । उनले कोरोनाको महामारीको बेला सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नु मनासिव हुने बताएका छन् ।
