सुर्खेत २२ कार्तिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वढ्दो विवादसंगै आफ्नो गुट शक्तिशाली वनाउने अभियान अन्तर्गत हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । घाईते मुख्यमन्त्रीलाई आजै हेलिकप्टर मार्फत सुर्खेत ल्याई प्रदेश अस्पताल सुर्खेतमा चेकजाँच गरिएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ।
शुक्रबार प्रदेशको हिमाली जिल्ला हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका वडा नं ३ को लिमाताङ् जाने क्रममा बीचवाटोमा हुटिक भन्ने स्थानमा घोडाबाट लडेका थिए।
हिजो मुगुवाट हेलिकप्टर चढेर मुख्यमन्त्री शाही हुम्लाको सिमीकोट विहान ८ वजे पुगेका थिए। हेलिकप्टरबाटै नेपाल चीन सिमानामा रहेको लिमी क्षेत्र अवलोकन गर्न जाने उनको कार्यक्रम मौषम खराबीले गर्दा हुन पाएन। उनी शुक्रबार दिनभर सिमिकोटमै कार्यकर्ता भेटघाट लगायतमा व्यस्त वने। साँझसम्म कार्यकर्ता भेटघाट चलिरह्यो।
आज विहान मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीलाई समेत अगाडि राखेर हुम्ला जिल्लाका कार्यालय प्रमुखहरुसंग भेटघाट गर्दै आवश्यक निर्देशन समेत दिए। तर, मुख्यमन्त्रीको यस प्रकारको भेटघाटवाट नेकपाका हुम्ला जिल्लाका नेताहरु भने खुसी देखिएनन् ।
‘सामान्यतया सरकार प्रमुख र विपक्षी दलको नेतालेसंगै वसेर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको नेपालको ईतिहासमा संभवत पहिलोपटक होला,’ नाम उल्लेख नगर्ने शर्तमा नेकपा हुम्ला जिल्ला कमिटीका एक सदस्यले प्रतिकृया दिए।
मुख्यमन्त्रीले पार्टीका सदस्यहरुलाई सामुहिक रुपमा भेट्ने भनेपनि पूर्व माओवादी निकट कार्यकर्ताहरुलाई भने छुट्टै भेटघाट गरेका थिए। यसवाट पूर्व एमाले खेमा त्रसित वनेको छ।
मुख्यमन्त्री शाहीको कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री नामक टेलिभिजन कार्यक्रम छायांकनका लागि सदरमुकाम सिमीकोटवाट ३ घण्टाको पैदल हुँदै पुग्न सकिने सिमकोट गाउँपालिकाकै वडा नं ३ को लिमाताङ् जाने योजना थियो। तर, गन्तव्यमा नपुग्दै आधावाटो हुटिक भन्ने ठाउँमा उनी घोडावाट खसेर घाइते भए । मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टर मगाई सुर्खेत पठाइएको नेकपा हुम्लाका सचिवालय सदस्य गोकुल वुढाले जानकारी दिए ।
यो पटकको हुम्ला भ्रमणमा मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावललाई लिएर गएनन्। आफ्नै गृह जिल्ला जाँदा समेत आफुलाई वाईपास गरेको भन्दै मन्त्री रावल रिसाएको एक नेकपा हुम्ला जिल्ला कमिटी सदस्यले वताए ।
‘उहाँ आफ्नो गुटका साथसाथै कांग्रेस समेत वलियो वनाउने योजना अन्तर्गत हुम्ला आएको देखियो,’ उनले भने। तर मन्त्री रावलसंग यसवारेमा प्रतिकृया लिन खोज्दा फूर्सदमा भएकोले आफु छुट्टी मनाउन नेपालगन्ज आएको प्रतिकृया दिए। मन्त्री रावल तत्कालीन नेकपा एमाले हुम्ला जिल्लाको अध्यक्ष र पार्टी भागवण्डावाट हुम्ला पार्टी सचिव वनेका छन् ।
मुख्यमन्त्रीसंगै कर्णाली प्रदेश सभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, लगायतका नेता तथा कार्यकर्ताहरु टेलिभिजन छायांकनका लागि लिमाताङ् जाने कार्यक्रम थियो।
