२०८३ वैशाख २ , बुधबार

दाहालले पार्टी फोड्ने योजना वनाएको आशंका



सुर्खेत १० मंसिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई अवाञ्छित ढंगले पार्टीका तल्लो कमिटीसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । प्रचण्डलाई हालसम्म हरेक ईश्युमा साथ दिएका नेता नेपालले अब देखि आँखा चिम्लेर साथ नदिने आफु निकटका कार्यकर्ताहरुलाई वताउन थालेका छन् । उक्त प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनलाई मद्दत पुग्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन् ।
‘यो विषय सचिवालयमै टुंग्याउनु पर्थ्यो तर उहाँले बिनासल्लाह प्रतिवेदन तल्लो तहसम्म पठाउनु भएछ, जुन किमार्थ उपयुक्त छैन,’ माधव नेपाली निकट एक केन्द्रीय नेताले उनको भनाइ उल्लेख गर्दै भने, ‘यो त पार्टी विभाजनमा लैजाने रणनीति भयो, यसले राम्रो गर्दैन।’
केन्द्रीय कमिटी सदस्यसमेत रहेका ती नेताका अनुसार दाहालले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु ठूलो कमजोरी हो। दाहालको यस कदमबाट नेपाल असन्तुष्ट बनेको ती नेताको भनाइ छ।
जुनसुकै वहानामा पार्टी विभाजन गर्नु हुँदैन भन्ने विचार अभिव्यक्त गर्दै आएका वरिष्ठ नेता नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारवाट पनि सन्तुष्ट छैनन् । पार्टी अध्यक्ष ओलीले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने तथा पार्टीलाई विधि, विधान वमोजिम चलाउनुपर्ने धारणा राख्दै आएका छन्।
गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपाललगायत पाँचजना सचिवालय सदस्यको तर्फबाट भन्दै कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठको प्रतिवेदन पेस गरेका थिए।
त्यस लगत्तै मंसिर ३ मा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दाहालको प्रतिवेदनमा लगाइएका संगीन आरोपहरुको खण्डन गर्दै त्यसलाई खारेज गर्ने बताएका थिए। सोही बैठकमा उनले दाहालको प्रतिवेदनमा उल्लेखित एक-एक प्रश्नको लिखित जवाफ दिने बताएका थिए।
ओलीले जवाफ लेख्न समय मागेपछि सचिवालय बैठक १३ गते बस्ने गरि स्थगित गरिएको थियो। आगामी बैठकमा ओलीले प्रचण्डका प्रश्नको जवाफ फर्काउने र प्रचण्डले लगाएको भन्दापनि अझै संगीन आरोपहरु प्रचण्डलाई लगाउने तैयारी भैरहेको ओली निकट एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मंसिर १० गते बुधबार