
सुर्खेत १८ मंसिर
पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै मोफसलमा रहेका कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् । ‘पार्टी फुटेर होईन, जुटेर जानू पर्छ’ भन्ने सुझाव दिदै नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य एवम् सिम्ताका महिला नेतृ मानकुमारी चन्दले ‘भाइ भुटे गवार लुटे’ भन्ने स्थितिको सिर्जना हुनेगरि काम नगर्न सुझाव दिएकी छन् ।
सरकारको नेतृत्व गर्दा थुप्रै जन–गुनासाहरु आउने वताउदै सवै गुनासा र समस्याहरु नेतृत्वले सुन्नै पर्ने उनले वताईन। गत स्थानीय तहको निर्वाचनमा सिम्ता गाउँ पालिकामा नेकपा एमालेवाट उपाध्यक्ष पदमा प्रवल दावेदार रहेकी चन्दले आगामी। स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा लड्ने आफ्नो चाहना रहेको उल्लेख गरिन।
सिम्ता पहिलेदेखि नै सुर्खेत जिल्लाकै शिक्षित व्यक्तिहरु वस्ने ठाउँ भएको उनले वताईन। महिलाको सवालमा सिम्ता गाउँ पालिका अगाडि रहेको उनको दावी छ। महिला सशक्तीकरणको सवालमा अझै धेरै गर्नुपर्ने उनको धारणा छ। तरपनि विकास सोचे जस्तो भएको छैन, सिम्ता रिङ्गरोड, देउली दुर्पाला हुदै काफलकोट जाने सडक निर्माण लगायतमा सिम्ता सरकारको गति कम भएको छ उनले गुनासो गरिन।
सवैको सहमतिमा विकासे योजना छनौट गरिदा मात्रै जनआंकाक्षा सम्वोधन हुने उनको भनाइ छ। सिम्तावाट हजारौंको संख्यामा कामका लागि भारत जानेहरूको लाईन हुने गरेको प्रती उनले चिन्ता व्यक्त गरिन। गाउँमै रोजगारीका अवसरहरु सिर्जना गरिनुपर्नेमा उनको जोड थियोे । कृषि क्षेत्रको एकीकृत विकास योजना ल्याउनु पर्ने भन्दै पशुपालन र कुखुरापालन व्यवसाय प्रवर्द्धनमा सिम्ता पालिकाको ध्यान पुग्न नसकेको उनको गुनासो थियो।
तरपनि सिम्ता सरकारले केही जनमुखी कामहरु गरिरहेको वताउदै घरघरमा खानेपानी र सिम्ता उज्यालो कार्यक्रम यसको उदाहरण भएको वताईन।