
सुर्खेत २ पौष
संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा दर्ता गर्न खोजिएको पत्रले माधवर प्रचण्ड खेमा पार्टीको संसदीय दलमा प्रष्ट रुपमै अल्पमतमा रहेको देखिएको छ। यसले सत्तारुढ दल नेकपा भित्रको आन्तरिक शक्ति सन्तुलनलाई पनि बाहिर ल्याईदिएको छ।
बुधवार संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउने क्रममा नेकपा भित्रको शक्ति सन्तुलन समेत सार्वजनिक भएको हो।
प्रतिनिधिसभामा प्रचण्ड/नेपाल समूह अल्पमतमा रहेको देखिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली ९६ सांसदसहित बहुमतमा देखिएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् । प्रतिनिधिसभाका कुल २७५ मध्ये एक÷चौथाइ सांसदले लिखित रूपमा आग्रह गरेमा राष्ट्रपतिले १५ दिन भित्र संसदको विशेष अधिवेशन बोलाउन सक्ने संवैधानिक व्यवस्था रहेको छ । यसलाई प्रयोग गर्दै प्रचण्ड नेपाल समूहले ८३ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा पुगेका थिए।
‘उनीहरूले ८३ सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । वहुमत पुर्याउन पहिल्यैदेखि नै जोडवल हो, नसकेपछि ८३ मै चित्त वुझाएर वसेका छन् । वहुमत पुगे संसदीय दलमै अविश्वास प्रस्ताव ल्याउने तयारी थियो,’ ती स्थायी कमिटी सदस्यले भने।
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा तत्कालीन नेकपा एमालेका १२१ र माओवादी केन्द्रका ५४ सांसद गरी नेकपाका १७५ सांसदहरु छन् भने राष्ट्रियसभामा ओली पूर्ण बहुमतमा रहेका छन्। राष्ट्रिय सभामा ओलीको पक्षमा झन्डै ६० प्रतिशत सांसद रहेको बुझिएको छ।
प्रचण्ड/नेपाल समूह प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैतर्फ अल्पमतमा परेपछि ओलीलाई संसदीय गणितवाट हटाउन नसकेको उनको भनाइ छ। उनले भने, ‘त्यसैले प्रधानमन्त्रीज्यू पनि ढुक्क भएर उनीहरूलाई खुल्ला चुनौती दिएर बस्नुभएको छ।’