पौष १३, सुर्खेत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य टिएन योगीले प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्दा अदालतमा विचाराधीन भएकोले अदालतले गर्ने फैसलामा कांग्रेसको पूर्ण समर्थन रहने वताएका छन् । नेपाली कांग्रेसले देशका १६५ निर्वाचन क्षेत्रमा गरेको विरोध सभा अन्तर्गत ललितपुर जिल्लाका ३ ओटै निर्वाचन क्षेत्रको संयुक्त आमसभालाई प्रमुख अतिथिको रुपमा संवोधन गर्दै यस्तो वताएका हुन ।
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले निर्वाचनमा जान नडराउने उनले दावी गरे । ’हामी निर्वाचनको विरोध गर्दैनौं,’ ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रको भेलालाई संवोधन गर्दै योगीले कम्युनिस्ट पार्टीहरु देश चलाउन नसक्ने ठोकुवा गरे ।
सुर्खेतका टिएन योगी नेपाली कांग्रेसको केन्द्रीय सदस्य नियुक्त भएदेखि नै पार्टीका महत्त्वपूर्ण जिम्मेवारी लिदै आएका छन् । सभामा कानुनविद् समेत रहेका योगीले नेपालको संविधानमा संसद विघटनको व्यवस्था वारेमा कार्यकर्ताहरुलाई जानकारी गराएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीवाट केही महिना अघि मात्रै कांग्रेस प्रवेश गरेका योगी सभापति देउवा निकट भएर काम गर्न थालेका छन् । आगामी वैशाख महिनामा हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेतवाट निर्वाचन लड्ने मुड वनाएका योगी ललितपुर जिल्लामा लोकप्रिय हुँदै गएका छन् ।
पार्टी एकतालाई उच्च सम्मान गर्दै सुनिल थापा समूहवाट आएका ६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीले उचित जिम्मेवारी दिईने कांग्रेस श्रोतले जानकारी दिएको छ ।
आज भएको विरोध कार्यक्रममा भक्तपुरमा पार्टी सभापति शेरवहादुर देउवा, काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह र काठमाडौंको कोटेश्वरमा भएको सभामा प्रवक्ता विश्वप्रकाश शर्माले संवोधन गरेका थिए ।