२०८३ वैशाख ३ , बिहीबार

कम्युनिस्टहरुले जनमतको दुरुपयोग गरे: थानी



 

सुर्खेत, १६ पौष

नेपाली कांग्रेसले सुर्खेत सहित देशैभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। उक्त दिवसको अवसर पारी नेपाली कांग्रेस सुर्खेतले राष्ट्रिय एकता तथा मेलमिलाप महत्व र औंचित्यका बिषयमा पार्टीका कार्यकर्तासंग छलफल गरेको छ। कार्यक्रमका सहभागीहरुले नेपालका दलहरुले मेलमिलापको वातावरण वनाउन नसक्दा संकटमा फसेका बताएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले पाँच वर्ष शासन चलाउन जनताले दिएको अभिमतको कम्युनिस्टहरुले दुरुपयोग गरेको आरोप लगाए। नेकपाको दुई तिहाई वहुमतको सरकारले मेलमिलापको नीति अंगिकार गर्न नसक्दा मूलुकलाइ दुर्घटनातर्फ लगेको बताए ।
उनले मेलमिलापको अभावले पार्टीहरु मात्र नभई सिंगो देश नै दुर्घटनामा पर्न लागेको भन्दै कांग्रेसले मुलुकको संकट पार लगाउन अघि वढ्नु पर्ने वताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए।
वीपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै उनले प्रतिपादन गरेको मेलमिलापको नीतिकै माध्यमवाट शान्ति सम्झौतादेखि संविधान निर्माण समेत बताए ।
पूर्व राज्यमन्त्री खड्गबहादुर बस्यालले विपीले लिएको नीतिमा काँग्रेस हिड्न नसकेको भन्दै अव नेतृत्वले यसबारे सचेत हुनुपर्ने समय आएकोतर्फ ईङ्गित गरे।
काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपाको सरकारले जनताको अभिमतलाई अपमान गरेको भन्दै लोकतन्त्रको रक्षा गर्न कांग्रेसको आवश्यकता खट्किएको दावी गरे ।
कार्यक्रममा सुर्खेत कांग्रेसका सचिव भुपेन्द्र खत्री, मप विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, कांग्रेसका क्षेत्रीय सभापति नारायण कोइराला,कांग्रेसका पूर्व उपसभापति कालीप्रसाद शाक्य, पूर्व सचिव नरेन्द्र कोइराला, महिला संघका अध्यक्ष पार्वती गिरी, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल लगायतले अहिले पनि राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक भएको र यसलाई व्यवहारमा लागू गर्न आग्रह गरेका थिए।
२०३३ साल पुस १६ तत्कालीन कांग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ।

प्रकाशित मिति : २०७७ पुस १६ गते बिहीबार