
सुर्खेत २२, पौष
माधवकुमार नेपाल टिममा लामोसमयदेखि सुर्खेत जिल्लाको नेतृत्व गरेका शिक्षक संगठनका पूर्व केन्द्रीय सचिव डण्डीप्रसाद शर्माले माधवकुमार नेपाल समूह परित्याग गरेका छन् । सुर्खेतमा पूर्व एमाले समूहमा निर्णायक भूमिकामा रहेका शर्माले माधव नेपाल र प्रचण्डले विधि र सिद्धान्त छोडेकाले आफुले उक्त समूह परित्याग गरेको खवरदृ्ष्टिलाई प्रतिकृया दिए।
अध्यक्षतात्मक प्रणाली भएको नेपाल कम्युनिस्ट पार्टीमा वहुमतले अध्यक्ष हटाउने परिकल्पना समेत नगरेको उनले दावी गरे। ‘वहुमतले अध्यक्ष फाल्नै सक्दैन, फेरि नेकपाको विधानले वहुमत र अल्पमतको व्यवस्था पनि गरेको छैन,’ उनले भने, ‘महाधिवेशन केन्द्रीत एजेन्डा वोकेर छलफल र वहस चलाएको भए सायद म उहाँ (माधव/प्रचण्ड) समुहमा रहन्थे तर व्यक्तिगत टकरावका कारण पार्टी पद्धति मिचेर पार्टी विरोधी अभियान चलाएकोले साथ दिन नसक्ने माधव नेपाललाई भेटेरै वताए।’
माधव नेपाल नेता हो भने गुटबन्दी छोडेर पार्टी एकता कायम राख्न अगाडि आउनुपर्ने उनको धारणा छ। मूल नेतृत्वलाई साथ र सहयोग गरे मात्रै पार्टी र सरकार सफल हुने उनको भनाइ छ। ‘१५ वर्षसम्म नेपाल महासचिव वन्दा केपीले उनलाई असहयोग गरेको कहिकतै ईतिहास छैन,’ उनले भने । केपीलाई गरेको असहयोगवाट नेकपाका कुनैपनि कार्यकर्ता खुसी नभएको उनको भनाइ छ।
केपी ओलीले पार्टी विधि र पद्धति मिचेको भए आगामी महाधिवेशनवाट किनारा लगाउन सकिने अवस्था हुँदाहुँदै पार्टी आन्दोलन र एकता भङ्ग हुनेगरी प्रमुख नेतृत्व लाग्नु दुखदायी भएको उनले वताए ।
आफुले माधवकुमार नेपालको टिमलाई छोड्दा उनलाई भेटेरै भनेको वताए । पार्टी विभाजनको विच जिल्लामा आफु निकटका झण्डै ३ हजार कार्यकर्ताहरुलाई सम्पर्क गरेर के गर्ने भन्ने सुझाव लिएकोमा अधिकांशले केपीसंग मिल्नु पर्ने धारणा राखेको उनको भनाइ छ। सोही वमोजिम आजैका मितिवाट आफु केपी ओली नेतृत्वको नेकपामा सक्रिय भएको शर्माले वताए । केपी ओलीले राष्ट्रियताको पक्षमा लिएको निर्णयवाट कार्यकर्ताहरु उनको समर्थक वनेको शर्माले दावी गरे। केपी नेतृत्वको नेकपामा गोलवन्द हुन समेत उनले नेकपाका सवै कार्यकर्ता र सुभेच्छुक लगायत आम नेपालीहरुलाई आव्हान गरे ।
आगामी निर्वाचनमा होमिन पार्टीले कुनै तयारी नथालेको उनले वताए । ‘पार्टी केन्द्रले गर्ने निर्णय वोकेर जनता माझ जान्छौ, जनतालाई सरकारले काम गर्न नपाएको वारे वुझाउदै पुन वहुमत दिनका लागि आग्रह गर्दछौं,’ शर्माले भने।
जिल्ला पार्टी भित्र विगतमा पनि अन्तर्द्वन्द हुनेगरेको उनको भनाइ छ। ‘हिजो ऋषि कमरेड र यामलाल कमरेड विच पनि असहमति र अन्तर्द्वन्द थियो । पार्टी जीवन र सिद्धान्तका विषयमा अन्तर्द्वन्द थियो। यति हुँदापनि उहाँहरु पार्टी पद्धतिको सीमा भित्र वसेर अन्तर्संघर्ष गर्नुहुन्थ्यो र अन्तमा रुपान्तरित हुँदै जाने मित्रतापूर्ण कम्युनिस्ट मूल्य मान्यता वमोजिमको अन्तर्संघर्ष गर्नुहुन्थ्यो,‘ शर्माले अघि भने, ‘वर्तमानको जिल्ला नेतृत्व अराजनीतिक अन्तर्संघर्ष गर्ने, असहमत हुनेलाई गाली÷गलौज गर्ने, व्यक्तिगत आक्षेप लगाउने, कमिटीका वैठकदेखि भाग्ने र आफु केन्द्रित गतिविधि गर्ने गरेको छ।’
पुरानो नेतृत्वले निर्माण गरेको पार्टी संरचना अध्यक्ष ध्रुवकुमार शाहीले भत्काएको उनको आरोप थियो। अग्रजहरुले निर्माण गरेको संरचना र विधि तोडेर जिल्ला नेतृत्वले गतिविधिहरु गरेको उनको आरोप थियो।
ध्रुव शाहीको नेतृत्व कमजोर, अवैज्ञानिक, सिद्धान्तविहीन, संस्कारविहीन र अभिभावकीयविहीन भएको उनको वुझाई छ। ‘नवराज जिलाइ पार्टी नेतृत्ववाट हटाउनुको अर्थ ध्रुवजिलाई भ्रष्टीकरणतर्फ लैजाने सारथी वन्नु थिएन, उहाँलाई समर्थन गरेको मेरो टाउकोमा टेकेर राम्रो काम गर्नुस, दुनियाँको मन जित्नुस भन्ने थियो। मेरै काँधमा चढेर मैलाई गोद्नुस भन्ने थिएन, मैले दिएको मेण्डेट विपरीत गएकाले उहाँलाई चुनौती दिएर अघि वढ्दैछु।’
आफु जिल्ला अध्यक्ष शाहीको सत्रुतापूर्ण अन्तर्संघर्षको शिकार भएको उनको भनाइ छ।
‘उहाँको व्यवहारले न त पार्टीलाई फाइदा भयो न त स्वयं उहाँलाई नै,’ शर्माले प्रश्न गरे, ‘ध्रुव शाहीले पार्टीलाई कुन दिन विधि र पद्धतिमा हिडाए ? उनलाई अहिले केपीले पार्टीको विधि र पद्धति तोडे भनेर सडकमा नारा लगाउने नैतिकता वचेको छ र ?
व्यक्तिगत सम्बन्ध र पहुँच माधव नेपाल टिममा भन्दापनि केपी टिममा नै भएको उनको स्वीकारोक्ति थियो। केपी टिमवाट आफु विगतमा शिक्षक संगठनको सचिव वनेको उनले स्मरण गरे।