२०८३ वैशाख ३ , बिहीबार

सुर्खेत प्रशासनले बनायो चिसो आकस्मिक योजना- २०७७

विपन्न समुदाय एवं वस्तीहरुको पहिचान गरिने


सुर्खेत २३ पौष

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक वसेको छ ।
विहीवार सम्पन्न उक्त बैठकले कोभिड-१९ को माहामारीको जोखिमवाट वच्न स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पालना गर्दै चिसोबाट हुने संभावित जोखिमलाई न्यूनिकरण गर्न पूर्वतयारी, राहत उद्धार तथा पुर्नस्थापना कार्यमा सवै सरोकारवाला निकाय संलग्न हुने निर्णय गरेको छ।

वैठकले स्थानीय सरकार, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उप-शाखा, सुरक्षा निकायहरु र एनजिओ लगायतका निकायहरुसँग समन्वय गरी चिसोबाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि पूर्वतयारीमा जुट्ने निर्णय गरेको छ।

वैठकले चिसोबाट प्रभावित हुन सक्ने विपन्न समुदाय एवं वस्तीहरुको पहिचान गर्ने निर्णय गरेको छ। साथै पहिचान भएको समुदाय एवं वस्तीहरुमा रहेका व्यक्ति समुदाय एवं परिवारहरु मध्ये अति विपन्न, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, जेष्ठ नागरिक लगायत बढी जोखिमपूर्ण वर्गको संख्या एकिन गर्ने निर्णय गरेको छ।
पहिचान भएका अतिविपन्न व्यक्ति तथा परिवारलाई अत्यावश्यक पर्ने राहत सामाग्री उपलब्ध गर्ने गराउने र यस्तो राहत उपलब्ध गराउँदा स्थानीय आपुर्तिकर्ता ९निजी वा सरकारी० सँग संझौता गरी पुनर्भरणको आधारमा संझौता गर्ने निर्णय गरेको छ।

साथै वैठकले विपद सम्बन्धि सवै काम कारवाही र घटनाहरुको नियमित जानकारी जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेतको फोन, फ्याक्स तथा इमेल ठेगानामा जानकारी गराउने निर्णय गरेको प्रजिअ रेग्मीले वताए ।

चिसोबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण तथा व्यवस्थापन गर्नका लागि चिसो आकस्मिक योजना २०७७, सुर्खेतलाई यहि बैठकबाट अनुमोदन गर्ने, चिसो वाट जोगिन अपनाउनु पर्ने सावधानी बारे स्थानिय रेडियो, टिभि, एफ।एम। मार्फत जनचेतनामुलक सन्देश प्रवाह गर्न सवै सरोकारवाला निकायसंग समन्वय गर्ने गराउने, विपद्को अवस्थामा प्रयोग गर्न सकिने गरी अस्थायी आश्रय स्थल निर्माण प्रयोजनका लागि खुल्ला क्षेत्र भए पालिकाको कुन र कति क्षेत्रलाइ आश्रय स्थान पहिचान गर्ने भन्ने निर्णय गरिएको छ ।

वैठकले जिल्ला आपतकालिन कार्य संचालन केन्द्र सुर्खेतको कार्य संचालन विधिको पहिलो मस्यौदा पेश गरि थप सुझावको लागि राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, प्रदेश आपतकालिन कार्य संचालन केन्द्र र स्थानिय तह तथा अन्य सरोकारवाला निकायमा पठाउने निर्णय गरेको छ।
वैठकले जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने चौकुने गाउँपालिका, वराहताल गाउँपालिका, चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, पन्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका तथा कार्यालय व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटीको पर परियोजनालाई धन्यवाद दिने निर्णय गरेको छ। साथै वैठकले यस वर्षको राष्ट्रिय भुकम्प सुरक्षा दिवस सवै स्थानिय तहहरुमा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २०७७ पुस २३ गते बिहीबार