२०८३ वैशाख २ , बुधबार

‘ओलीको कदमले संविधान र राष्ट्रियता खतरामा’



सुर्खेत २७, पौष

नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउने योजना सार्वजनिक गरेका छन् ।
सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि भने केही सीमित राजनीतिक दलको हातमा परेको भन्दै नेता शर्माले उक्त प्रस्ताव अघि सारेका हुन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार भेटघाट गर्दै नेता शर्माले संयुक्त मोर्चालाई कम्तीमा दस वर्ष टिकाउने र त्योबाट नै स्थायित्वका लागि काम गर्नुपर्ने बताएका हुन् । विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलका केही नेताहरुले मात्र लिँदा अहिले संविधान विरोधी कदम व्यहोर्नु परेको उनले बताए ।

‘ओलीको असंवैधानिक कदमले संविधान र राष्ट्रियता खतरामा छ । अव संयुक्त मोर्चा नै बनाएर संविधान र राष्ट्रियताको रक्षा गर्नुपर्ने बेला आएको छ,’ नेता शर्माले भने, ‘विगतका आन्दोलनमा बाहिरको ठूलो हिस्सा पनि सहभागी थियो । तर, आन्दोलनपछिको स्वामित्व भने केही नेताहरुले मात्रै लिए । फलस्वरुप अहिलेको संविधान विरोधी कदम व्यहोर्नु परेको छ ।’

उनले यसलाई बहसमा ल्याएर सच्याउनुपर्ने वताउदै बहुपक्षीय समाजमा यो सहअस्तित्वको कुरा छुटेको धारणा राखे । उनले यसलाई सच्याएर नयाँ गति दिनुपर्नेमा जोड दिए । संविधान बनाउँदा नै सबै पक्षलाई समेट्न नसक्नु कमजोरी भएको शर्माको भनाइ थियो ।
प्रधानमन्त्री ओली प्रती आक्रामक वनेका शर्माले असंवैधानिक, विनासकारी र राष्ट्रघाती कदम चाल्दा संविधान र राष्ट्रियता खतरामा परेको वताए । कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टी विभाजन नहुने उनको धारणा थियो ।

प्रकाशित मिति : २०७७ पुस २७ गते सोमबार