२०८३ वैशाख ३ , बिहीबार

जग्गाधनीले थाहै नपाई विक्रीवितरण



माघ १, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो जग्गा अर्कैले विक्रीवितरण गरेको पछि जानकारी पाएपछि जग्गाधनी कानुनी कार्वाहीका लागि प्रशासन पुगेका छन् । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।
मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’
प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको समेत खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहीबार