
सुर्खेत ३, माघ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
मिति उल्लेख नगरेको पूर्जीमा ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यस बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ।
तोकिएको समयमा उपस्थित नभएमा जनपरिषद नेपालीको नीति नियम अनुसार हुने जानकारी समेत गराईएको छ।
प्रचण्डलाई जारी गरिएको वारेण्टमा महान जनयुद्धको शान्ति प्रकृयाका आएपछि क्रान्ति प्रती विश्वासघात गरेको, दुश्मनलाई हतियार वुझाएको, जनमुक्ति सेना विघटन गरेको अभियोग लगाईएको छ।
यसैगरी माथिल्लो कर्णाली जलविद्युत, अरुण तेस्रो लगायतका विभिन्न संझौता भारतीय कम्पनीहरुसंग गर्ने गराउने कार्यमा संलग्न भएको, स्थानीय तहको निर्वाचनमा कालिकोटको माल्कोटमा धनरुप वटाला र कैलालीका चन्द्रबहादुर शिंहको हत्यामा गोली चलाउन आदेश दिएको र २०७४ चैत ५ गते नेकपा कोशी व्यूरो ईन्चार्ज किरणलाई गिरफ्तार गरि थुनामा राखेको जस्ता गम्भीर आरोपहरु लगाईएको छ।
केन्द्रीय जनअदालत रोल्पाले प्रधानमन्त्री केपी ओलीविरुद्ध समेत वारेन्ट जारी गरिएको पत्र सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको पार्टीले दाबी गरेको छ।
पार्टीको रोल्पामा रहेको ‘जनअदालत’वाट प्रकाशद्वारा जारी गरिएको पूर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ । दुबै नेताका विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ ।
