२०८३ वैशाख २ , बुधबार

दैलेख वन कार्यालयको काठ तस्करी रोक्न सक्रियता



सुर्खेत २८ माघ

डिभिजन वन कार्यालय दैलेखले अवैध सालको काठ बरामद गरेको छ । कार्यालयले पछिल्ला तीन हप्तामा १ सय २५ क्यू फिट बढी चिरान र गोलिया काठ बरामद गरेको हो । वन कार्यालयले माघ ५ गते ६५.२९ क्युफिटका १ सय २४ थान चिरान काठ बरामद गरेको वतायो।

उक्त परिमाणका काठ आठबिस नगरपालिका–१ नौखालबाट बरामद गरिएको डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए । ट्याक्टरमा लोड गरी ओसाररपसार गरिरहेको अवस्थामा प्रहरी चौकी पाल्तडाको टोलीले काठ बरामद गरेको रावतले जानकारी दिए। अवैध रुपमा सालको काठ ओसार/पसार गर्ने चार जना माथि अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत रावतको भनाइ छ ।

यस्तै, माघ १७ गते चामुण्डाविन्द्रासैनी नगरपालिका–३ स्थित चौतारा स्याउले सामुदायिक वनबाट २० थान सालको चिरान काठ बरामद गरिएको थियो । वन कार्यालयका कर्मचारी र समुहका वन हेरालुको संयुक्त टोलीले १६ क्यू फिट चिरान काठ बरामद गरेको हो ।

सोहि ठाउँबाट ५ थान अर्थात २६.७१ क्यू फिट गोलिया काठ बरामद गरिएको डिभिजनल वन अधिकृत रावतले जानकारी दिए । वनमा लुकाई छिपाई राखेको अवस्थामा सालको काठ बरामद गरिएको हो । अवैध रुपमा सालको काठ राखेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत रहेका मनबहादुर विकलाई पक्राउ गरिएको छ ।

त्यसैगरी नारायण नगरपालिका–७ किंवुगाउँबाट समेत सालको काठ बरामद गरिएको छ । रावतका अनुसार १८.४६ क्यू फिट गोलिया काठ र दाउरा बरामद गरिएको हो । रुख काटिएको विषयमा थप अध्ययन, अनुसन्धान भईरहेको डिभिजनल वन अधिकृत रावतले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधबार