२०८३ वैशाख २ , बुधबार

कर्णालीका पत्रकार विभाजित : माधव/प्रचण्ड खेमामा कांग्रेसको रामचन्द्र पौडेल खेमा मिसियो



सुर्खेत २९ माघ

देशमा देखिएको राजनीतिको प्रभाव कर्णाली प्रदेशका पत्रकारसम्मै आईपुगेको छ । खासगरी संसद विघटनलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भैसकेको छ भने नेपाली कांग्रेसको देउवा समूह प्रधानमन्त्री ओली नजिक र रामचन्द्र खेमा प्रचण्ड/माधव समूह नजिक रहेको नेताहरुको भनाईवाट आँकलन गर्न सकिन्छ ।

देशको राजनीतिसंग नजिकको सम्बन्ध राख्ने पत्रकार महासंघको नजिकिदो निर्वाचनलाई लिएर आ-आफ्ना समूह वनाउने होडवाजी सुरु भएको छ। कांग्रेसको रामचन्द्र समूहले कर्णाली प्रदेशमा प्रचण्ड/माधव समूहसंग मिलेर महासंघको आगामी निर्वाचन लड्ने छनक देखाएको छ।

यसैको तैयारी स्वरुप बिहीबार माधवर प्रचण्ड निकट र रामचन्द्र पौडेल निकटका पत्रकारहरुले सुर्खेतको वीरेन्द्रनगरमा एक सहमति गरेका छन् । प्रतिगमनविरुद्द भनेर नाम दिएपनि उनीहरूको भित्री लक्ष्य आगामी महासंघको निर्वाचननै भएको उनीहरु स्वीकार गर्दछन।

उनीहरूले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको कदम विरुद्ध कर्णालीका तीन संघ संगठनमा आवद्ध पत्रकारहरुले विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । प्रचण्ड/नेपाल समर्थित प्रेस संगठन, नेपाली काँग्रेसको रामचन्द्र पौडेल समर्थित नेपाल प्रेस युनियन र प्रगतिशिल पत्रकार संघले प्रतिगमन विरुद्ध आगामी फागुन २ गते मौन विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

निर्णय सार्वजनिक भएसंगै सामाजिक संजाल फेसवुकमा प्रतिकृया दिदै नेपाल पत्रकार महासंघका सदस्य एवम् देउवा निकट प्रेस युनियनका नेता कलेन्द्र सेजुवालले पत्रकार आन्दोलनमा जाने निर्णयको विरोध गरेका छन् । यसैगरी देउवा निकट प्रेस युनियनका नेता पत्रकार नगेन्द्र उपाध्यायले समेत पत्रकारको काम सडक आन्दोलन गर्नु नभएको भन्दै विरोध प्रकट गरेका छन् ।

विरोध प्रदर्शनमा राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघले समेत सहभागी हुने निर्णय गरेको प्रेस संगठन नेपाल कर्णालीका ईन्चार्ज ध्रुव बुढाथोकीले वताए। बैठकले फागुन २ गते स्थानीय मंगलगढी चोकबाट र्याली सहित मौन विरोध प्रदर्शन गर्ने र बजार परिक्रमा पछि पिपलचौतारीमा पुगेर सभामा परिणत हुने बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहीबार