२०८३ वैशाख ३ , बिहीबार

पूर्णबहादुर खड्काले चुनाव जितेको भए यो वाटो पूरा गर्न लगाउँथे

पुराना पुस्ताका वडा अध्यक्षको नयाँलाई चुनौती


फागुन ३, सुर्खेत

नयाँ जमाना, नयाँ पुस्ता अनि नयाँ विचारवाट निर्देशित नेपाली समाजमा पुराना पुस्ताका राजनीतिज्ञहरुले समेत अझै वर्चस्व कायम राखेका छन् ।

पुराना पुस्ताका नन्दवहादुर वुढाले भेरीगंगा नगरपालिका वडा नं २ मा २०४६ सालको परिवर्तन पछि समेत आफ्नो वर्चस्व कायमै राखेका छन् । २००८ सालमा जुम्ला जिल्लामा जन्मेका उनी २०३८ सालमा जुम्लावाट वसाई सराई गरि हालको भेरीगंगा नगरपालिकाको लेकपराजुल आएका थिए ।

हाल भेरीगंगा नगरपालिका वडा नं २ को वडा अध्यक्ष रहेका वुढा सोही वडाको नेपाली कांग्रेसका सभापति समेत हुन । २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी सुर्खेतको लेकपराजुल गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भने उनी लेकपराजुल गाविसको अध्यक्ष पदमा पराजित वने । उनी जम्मा ३५ मतले अध्यक्ष पदमा पराजित भए । २०५६ सालदेखि २०७६ सालसम्म नेपाली कांग्रेसको गाउँ कार्यसमिति सभापति वनेका वुढा पार्टीको संघीय संरचना अनुसार पार्टी वडा समितिका सभापति रहेका छन् ।

आफु अब वुढो भैसकेकोले आगामी निर्वाचन लड्ने आफ्नो चाहना नभएको उनी वताउँछन। गएको निर्वाचनमा जनता समक्ष गरेको एउटा मुख्य वाचा पूरा गर्न नसकेकोमा उनी दुखी छन् ।

’अब कार्यकाल पनि सकिन लाग्यो । कोरोनाले सवै विकास वजेट खायो। आफ्नो कार्यकाल भित्र हर्रेदेखि मन्नमकाँडासम्म वाटो पु¥याउने लक्ष्य थियो, नसक्ने भए,’ उनले भारी मन वनाउँदै भने, ’ पूर्णबहादुर खड्काले चुनाव जितेको भए उनलाई भनेर जसरी पनि यो वाटो पूरा गर्न लगाउँथे ।’

उनी २०७४ साल जेठ ४ गते भएको स्थानीय निर्वाचनमा विजयी भएपछि केही उल्लेखनीय कामहरु भने गरेका छन् । आफ्नो कार्यकाल भित्र वडाका सवै नागरिकहरुलाई विद्युत सेवा पु¥याई छाड्ने उनले संकल्प लिएका छन् ।

उनको वडामा अहिले १५ करोडको वजेटमा विद्युतीकरण गर्ने योजना अनुसार काम भैरहेको छ । उनी भन्छन्,’ सामुदायिक विद्युत अन्तर्गत १० करोडको काम भैरहेको छ । यसले नपुगेर पुन ५ करोड थप गर्नेगरी सर्भेको काम भैरहेको छ ।’ उनलाई सवै वडावासीको घरमा विजुली वत्ती वलेको हेर्ने रहर छ ।

सडकको क्षेत्रमा समेत उक्त वडामा उल्लेखनीय प्रगति भएको देख्न सकिन्छ । उनी निर्वाचित हुँदा वडामा गाडी पुगेको थिएन । सुर्खेत कोहोलपुर पक्कीसडक वडाकै सिमानावाट भएर जाँदा पनि आफ्नो वडामा सडक नपुगेको देख्दा दिग्दारी लाग्ने गरेको अनुभव उनी सुनाउँछन ।

उनी निर्वाचित भएपछि पहिलो प्राथमिकता सडकलाई दिए । वडा कार्यालय भएको देवस्थललाई केन्द्र मानेर ट्रयाक खोल्ने काम सुरु गरे। हाल सत्तरी, मोहटी, चैते रातापानी हुँदै देवस्थल वडा कार्यालयसम्म ट्रयाक ओपन भै यातायात संचालन समेत भैसकेको उनी वताउँछन ।
यसैगरी सिस्नेरी, शनिमोर, आलडाँडा, देवस्थल कालपानी, सालडाँडा हुँदै चक्रपथको योजनामा आफु लागेको उनले वताए। सिस्नेरीलाई जिरो प्वाइन्ट मानेर सडक विस्तार भैरहेको र सिस्नेरीमै पक्कीपुल वनाउनेगरी सर्भेको काम सम्पन्न गरिएको उनले जानकारी दिए ।
यस्तै शाखा सडक अन्तर्गत सिस्नेरीवाट देवस्थल, वडा कार्यालयवाट चैते र वडा कार्यालयवाटै सातडाँडा भित्री खोलाको काम भैरहेको उनले जानकारी दिए ।

ट्रयाक ओपन गर्नै सवै वजेट लागेकाले ग्राभेल र सडकनालीको काम गर्न नसकिएको उनको भनाइ छ । आगामी आवमा ग्राभेल र केही नालाको काम समेत हुने उनी वताउँछन ।

संघीय खानेपानी आयोजना अन्तर्गत वडामा २ करोड ५० लाखको आलडाँडा खानेपानी र ७ करोड लागतको लेकपराजुल कालपानी खानेपानी आयोजना वनाउने गरि संझौता भईसकेको उनको भनाइ छ ।

अधिकांश नागरिकहरुको मुख्य पेशा कृषि भएपनि सिंचाईको सुविधा नभएकोले आकाशे पानीकै भरमा खेती गर्दा मेहनत अनुसार प्रतिफल पाउन नसकेकोमा उनी दुखेसो व्यक्त गर्छन् ।

खेतीपाती राम्रो नहुने भएकोले वडावासी रोजगारीका लागि भारत लगायतका देशमा जाने गरेको उनी वताउँछन ।
‘पशुपालन गर्याे आरक्ष नजिक भएकोले वाघले खसीबाख्रा मार्ने डर छ, कृषि गरौ वदेलले सवै वाली खाईदिन्छ,’ जनताको पीडा सम्झदै उनी भन्छन् ।

जम्मा ४ हजार ५ सय जति जनसंख्या, ९ सय ९९ घरधुरी र १ हजार ९ सय जति मतदाता भएको भेरीगंगा नगरपालिका वडा नं २ का वासिन्दाहरुको हितका लागि आफु पदमा भए या नभएपनि आफ्नो सामाजिक अभियान भने वाँच्दासम्म जारी राख्ने वुढाले प्रतिवद्दता जनाए ।

प्रकाशित मिति : २०७७ फागुन ३ गते सोमबार