२०८३ वैशाख २ , बुधबार

तीनै तहका सरकारहरु बीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक



फागुन ३, सुर्खेत

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीनै तहको सहकार्य, समन्वय र सहअस्तित्व नै विकास र समृद्धिको आधारशीलता भएको बताएका छन् ।

कर्णाली प्रदेश सरकारको तेस्रो वर्षगाँठको समारोहमा सोमवार शुभकामना मन्तव्य व्यक्त दिदै प्रदेश प्रमुख कलौनीले संघीय व्यवस्थामा तीन तहका सरकारहरु बीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक भएको बताए ।

प्रदेश प्रमुख कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको जनाए। कोरोना महामारीमा यहाँका नागरिकहरुको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत थुप्रैलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक कार्यक्रम भएको उनको भनाई थियो ।

उनका अनुसार प्रदेश सरकारले सीमान्तकृत राउटेलाई समाज विकासको मूलधारमा ल्याउनसमेत जोड दिएको र पर्वतीय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी तालिम केन्द्रको संरचना निर्माण कार्यलाई पनि अघि बढाएको छ ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेश भन्दा निकै कमजोर भएकोले जनताले अपेक्षा गरे अनुसारको काम नदेखिएको बताए । नाबालक जस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरेको दाबी गरे।

गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतिपूर्ण भएपनि जलविद्युत उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उनले वताए । कर्णालीमा नीजि लगानीकर्ता भित्र्याउने पहल भईरहेको उनले जानकारी दिए ।

प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आईसकेकोले आफ्नो अभिभारा पुरा गर्ने विश्वास व्यक्त गरे । लोकतन्त्रको सुन्दरपक्ष जवाफदेहिता र पारदर्शिता भएको भन्दै सभामुख शाहीले संघीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मकरुपमा लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७७ फागुन ३ गते सोमबार