भ्रष्टाचारी ठहर भए तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३० श्रावण २०८०, मंगलवार १९:४९

काठमाडौं । घुससहित पक्राउ परेका दोलखा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले रिजालसँग जोडिएका पाँच थान मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते उपसचिव रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले एक वर्ष कैद र ४ लाख बिगो तथा सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ। तत्कालीन प्रजिअ रिजालविरुद्ध अख्तियारले ४ वटा घुस लेनदेन गरेको र एउटा अनुगमनमै नगइ भत्ता बुझेको पाइएको भन्दै ५ वटा अलग–अलग आरोपमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

दोलखामै रहँदा रिजालले विभिन्न मुद्दा सेवाग्राहीलाई बढी सजाय र जेल पठाइदिने डरत्रास देखाएर घुस उठाउने गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। रिजालले चारजना सेवाग्राहीलाई जेल सजाय गराइदिने डर देखाएर जनही ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

त्यसैगरी भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरीरखाता नै खडा नगरी भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी भत्ता लिएको दाबी अख्तियारको आरोपपत्रमा गरिएको छ।

उनले अनुगमनमा जाँदै नगइ कार्यालयमै बसेर भ्रमण भत्तासमेत बुझेको आरोप थियो। रिजाल आफैंले सुरक्षा समितिको बैठक राखेर उपस्थित जनाई हस्ताक्षरसमेत गरेर अनियमित रुपमा ७७ हजार ६ सय भत्ता लिएको आरोपपत्रमा उल्लेख छ। अख्तियारले विभिन्न पाँचवटा मुद्दामा ६ लाख ५२ हजार ६ सय विगो,जरिवाना र कैद सजाय माग गरेको थियो।

अख्तियार हुँदै दोलखा पुगेका थिए रिजाल
सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएका रिजाल कुनै समय अख्तियारकै सह–प्रवक्ता थिए। अख्तियारमा काम गरेका उनी दोलखा पुगेपछि विवादित भए। लगत्तै उनी काठमाडौं तानिए अनि अख्तियारले नै भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले काठमाडौं तानेको थियो। तर, यो प्रकरणमा चासो देखाउँदै छानबिन अघि बढाएको अख्तियारले निर्देशन दिएसँगै रिजाललाई गृहमन्त्रालयले २०७६ मंसिरमा निलम्बन गरेको थियो।

निलम्बनमा परेका रिजालमाथि विभागीय कारबाहीसँगै अख्तियारले पक्राउ गरेर अनुसन्धान गरेको थियो। अख्तियार बसेका कारण उनले कर्मचारीबाटै घुस लिने गरेको कुरा पनि सार्वजनिक भएको थियो।

के थियो प्रकरण ?

दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको सार्वजनिक भएपछि रिजाल अनुसन्धानमा तानिएका थिए।

स्थानीयको आरोप प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको थियो। धरौटीबापत १४ हजार लिनुपर्नेमा रिजालले ४९ हजार मागेको दाबी उनीहरूले गरेका थिए।

बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले फिर्ता गरेका थिए। प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर थिए। तर अख्तियारको अनुसन्धानमा उनले बदनियत राखेर रकम असुल गरेको पाइएको थियो।

Next Post

कक्षा १२ को नतिजा : झण्डै ७ हजार विद्यार्थीले ल्याए ४ जीपीए

३० श्रावण २०८०, मंगलवार १९:४९
भक्तपुर । काठमाडौं । कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३।६१ […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930