
सुर्खेत ८, फागुन
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शान्ति वार्तामा वस्ने छनक देखाएको छ। शनिबार एक प्रेश विज्ञप्ति जारी गर्दै उक्त समूहले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाउ दिएको छ।
पार्टीका महासचिव विप्लवले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् । विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।’
यसबीचमा सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने समयसमयमा उद्घोष गरिरहेका थिए । विराटनगरमा शनिबार आयोजित सभामा पनि प्रधानमन्त्रीवाट यस्तै अभिव्यक्ति आइरहँदा विप्लवको वक्तव्य आएको हो ।
विप्लवको विज्ञप्ति आएसंगै उक्त पार्टीसँगको वार्ताको लागि सरकार सकारात्मक रहेको जनाईएको छ सरकारसँग वार्ताको लागि विप्लव समूहले सकारात्मक रहेको जनाएकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ता अघि बढ्नसक्ने परिस्थिति निर्माण भएको बताएका छन् ।
मन्त्री ज्ञवालीले शान्तिपूर्ण ढंगले आउँन चाहँदा सरकारले सकारात्मकरुपले लिने वताए । उनले विप्लव समूहका लागि सहज वातावरण बनाउन सरकार तयार रहेको प्रतिकृया दिएका छन् ।
वार्ताको वातावरण बनाउन विप्लवमाथिको प्रतिबन्ध हटाउनेतर्फ सरकारले आवश्यक निर्णय लिनसक्ने संकेत देखिएको छ। नेपाल सरकारका मन्त्रीहरु नै विप्लव समूहसंग वार्ता गरि प्रचण्डलाई एक्लाउने रणनीतिमा लागेका थिए।
जनयुद्धकालदेखि नै प्रचण्डसँग राम्रो सम्बन्ध नभएका विप्लवले अहिले सरकारविरुद्धको आन्दोलन त्यागी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदृश्यरुपमा सहयोग गर्ने रणनीति वनाएको जानकारहरु वताउँछन। विप्लवले सरकारलाई बलियो बनाउने र प्रचण्डसँग बदला लिन चाहेको नेकपाका एक केन्द्रीय सदस्य दावी गर्छन।