
सुर्खेत १२ फागुन
सुर्खेत उपत्यका खानेपानी संस्थाका पूर्व कोषाध्यक्ष एवम् स्किम नं २ का सदस्य भीमबहादुर खड्काले स्किम नम्बर २ का सदस्य तथा वडा नम्बर १२ का सदस्य रामकुमार दर्लामीले आफुलाई झुक्याएर हस्ताक्षर गराएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
दर्लामीले घरमा आई स्किम २ को खानेपानीसम्वन्धी समस्याको विषयमा छलफल गरि संस्थामा पठाउनु पर्ने भएकोले सहि आग्रह गरेको र त्यसैमा आफुलाई झुक्काएर केहि कागजमा आफ्नो सहिछाप गराई फर्किएको खड्काले आरोप लगाएका छन् ।
२०७२ श्रावण २३ गते भएको सुर्खेत उपत्यका खानेपानी संस्थाको स्किम समितिको निर्वाचनबाट स्किम नम्बर २ को स्किम सदस्यमा आफु निर्वाचित भएको उनले उल्लेख गरेका छन् ।
उनले २०७२ भाद्र १७ गते सम्पन्न भएको मुल उपभोक्ता समितिको निर्वाचनबाट मुल उपभोक्ता समितिको कोषाध्यक्ष पदमा आफु निर्वाचित भएको र कोषाध्यक्षमा मत बराबर भएकाले पहिलो २ वर्षसम्म कोषाध्यक्षको रुपमा कार्य गरेको समेत उल्लेख गरेका छन् ।
सुर्खेत उपत्यकावासी जनतालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने सेवामुखी संस्थामा केहि गैर राजनीतिक व्यक्तिहरुले विभिन्न वहानामा संस्थालाई वदनाम गराउने क्रियाकलापहरु विगत देखिनै गर्दै आईरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
भेरी नदिको पानी सुर्खेत उपत्यकामा ल्याउने, दुन्दुरे खोलाको पानी ल्याउने, वितरण पाइपलाइनहरु सुधार विस्तार गरि सेवालाई प्रभावकारी बनाउनका लागि कार्य अगाडि बढाईरहेको नेतृत्वलाई वदनाम गर्ने र आफ्नो राजनीतिक तुक फेर्ने स्वार्थ बोकेका केही झुण्डहरु स्किम समितिमा निर्वाचित पदाधिकारी सदस्यहरुलाई अनेकौ बहाना बनाई झुक्काई संस्थाको विरुद्धमा हस्ताक्षर संकलन गर्दै हिडेको उनले उल्लेख गरेका छन् ।
उनले आफुलाई झुक्काएर संस्थाको विरुद्धमा सहिछाप गराएको र त्यसमा आफ्नो समर्थन नरहेको उल्लेख गर्दै विभिन्न तत्वहरु अहिले गाउँघरमा सक्रिय भएर लागिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था, स्किम समिति र मूल समितिका सदस्यहरुलाई त्यस्ता गैरजिम्मेवार र गैर राजनीतिक व्यक्तिहरुको भ्रममा नपरि सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने दिशातर्फ एकमन एकताका साथ अगाडि बढ्न अनुरोध गरेका छन ।
