
सुर्खेत १४ फागुन
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले संस्थामा रहेका केही जिम्मेवार व्यक्तिहरुले गत फाल्गुन ७ गते अपिल सार्वजनिक गर्दै आम उपभोक्ताहरु र सरोकारवाला निकायहरुमा भ्रम सृजना गर्ने कार्य गरेकोमा संस्थाको गंभीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाका अध्यक्ष कुलमणि देवकोटाले शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै उपत्यकावासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा संचालन गर्ने उद्देश्यले नागरिकस्तरबाट २०५७ सालमा स्थापना भएको सेवामुलक संस्था भएको उल्लेख गर्दै संस्था संचालनका लागि लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट आवधिक निर्वाचन गराई संस्थाको स्किम र मूल उपभोक्ता समिति गठन गर्ने बैधानिक व्यवस्था रहेको जनाएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा दैनिक कार्यालय व्यवस्थापन र सेवा संचालनका लागि कार्यालयमा कर्मचारीहरुको व्यवस्था गरिएको र खानेपानी समस्या समाधान गर्नका लागि संस्थाले दुन्दुरे खोला आयोजना, वृहत भेरी पम्पिङ्ग आयोजना, वितरण पाईपलाइन सुधार विस्तार जस्ता आयोजनाहरु स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि कार्य अगाडि बढाईरहेको जानकारी गराएका छन् ।
अध्यक्ष देवकोटाले संस्थाको स्किम समितिको २०७२ श्रावण २३ गते र मुल उपभोक्ता समितिको २०७२ भाद्र १७ गते निर्वाचन सम्पन्न गरि वर्तमान नेतृत्वले कार्यभार सम्हालेको र उपत्यकाको खानेपानी सेवाको स्तरवृद्दि गर्न लागिपरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा संस्थाको विधान अनुसार स्किम र मूल उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु ४ वर्षे कार्यकालका लागि चयन भएर आएकोमा, संस्थाले मिति २०७६ असोज १० गते साधारणसभा बोलाएको र उक्त साधारण सभाबाट मिति २०७६ पौष ५ गते दश वटै स्किम समितिहरुको र मिति २०७६ पौष १९ गते मूल उपभोक्ता समितिको निर्वाचन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
तर, निर्वाचन समिति गठन भएको अवस्थामा केही साधारण सदस्यहरुले साधारण सभा वहिष्कार गरि अहिले निर्वाचनमा नजाने र संस्था संचालनको वैकल्पिक ढाँचाका विषयमा सर्वदलीय वैठक मार्फत अघि बढ्ने प्रस्ताव गरे अनुसार संस्थाले सर्वदलिय र सर्वपक्षिय बैठकको अयोजना गरि संस्था संचालनको ढाँचाको विषयमा व्यापक छलफल र अन्तर्क्रियाहरु गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
यसवाहेक साधारण सभा गर्न विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण यो प्रक्रियामा करिव दश महिना ढिला हुन गएको स्वीकार गरिएको छ । संस्थालाई कसरी संचालन गर्ने भन्ने सम्वन्धमा बैकल्पिक व्यवस्थापनबाट संचालन गर्नका लागि विद्यमान संस्थाको विधानमा व्यवस्था नभएका कारण संस्थाले तीन सदस्यीय विधान संशोधन समिति गठन गरि विधान संशोधनको मस्यौदा तयार गरेको र यसलाई संस्थाको साधारण सभावाट अनुमोदन गर्न बाँकी रहेको जानकारी दिएको छ।
संस्थामा आर्थिक अनियमितता भन्दै संस्थाका जिम्मेवार पदाधिकारीहरुवाट केही दिन अघि जारी गरिएको विज्ञप्तिको खण्डन गर्दै संस्थाको सम्पुर्ण आम्दानी संस्थाको मुल खातामा जम्मा हुने उल्लेख गर्दै सो खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन हुने र त्यस खाताबाट संचालन खातामा निकासा गर्ने बाहेक अन्य कुनैपनि खर्च गर्ने अधिकार अध्यक्षलाई नभएको प्रष्ट पारिएको छ।
विज्ञप्तिमा संस्थाको सम्पुर्ण खर्च संचालन खाताबाट गरिने र सो खाता कार्यालय प्रमुख र लेखापालको संयुक्त दस्तखतबाट संचालन हुने संस्थाको बैधानिक व्यवस्था रहेको जानकारी गराईएको छ।
संस्थाका कोषाध्यक्ष राम बहादुर गौतमले संस्थाको मूल खाताबाट संचालन खातामा रकम निकासा गर्ने चेकमा दस्तखत नगरिदिएका कारण गत मंसिर देखि संस्थामा कार्यरत कर्मचारीहरुले मासिक तलब समेत लिन नपाएको विज्ञप्तिमा उल्लेख छ।
संस्थाले आयोजना निर्माण गर्दा नगर विकास कोषबाट लिएको ऋणको साँवा व्याज समेत समयमा भुक्तानी गर्न नसकिएको र यसकारण संस्थाले व्याजको ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था आएको जानकारी गराईएको छ ।
विज्ञप्तिमा संस्थाका कोषाध्यक्षले रकम निकासा गर्न नमान्ने र संस्थाका सचिब चन्द्रबहादुर सुनारले कर्मचारीको हातबाट संस्थाको वैठक पुस्तिका खोसेर लगि आफ्नो घरमा राख्ने जस्ता गैरजिम्मेवार कार्य भैरहेकोले संस्था संचालनमा कठिनाई उत्पन्न भएको उल्लेख गरिएको छ ।
संस्थाको वैठक पुस्तिका सचिबले जवरजस्ती खोसेर लगेको भनि कर्मचारीबाट गत फाल्गुन ९ गते लिखित निवेदन आए पश्चात संस्थाको तर्फबाट सचिवलाई टेलिफोन गरि वैठक पुस्तिका संस्थामा ल्याउन अनुरोध गर्दा पनि बैठक पुस्तिका फिर्ता नगरेको वताईएको छ। यसले गर्दा संस्था संचालनमा वाधा पुगेकाले गत फाल्गुन ९ गते संस्थाको निर्णय पुस्तिका फिर्ता ल्याउने व्यवस्था मिलाईदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई अनुरोध गरेको अध्यक्ष देवकोटावाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यहि स्थिति रहेमा कर्मचारीहरुले पारिश्रमिक नपाएका कारण संस्थामा हडताल गर्ने र सेवा नै प्रभावित हुने अवस्था देखिएको उल्लेख छ ।
विज्ञप्तिमा संस्थाको विधि,विधान र प्रचलित कानुन अनुसार चलेको संस्था र यससँग जोडिएका व्यक्तिहरुको गरिमामाथि आँच आउने गरि पदाधिकारीहरुवाट सार्वजनिक गरिएको अपिल दुरासययुक्त निराधार, कपोकल्पित र निन्दनीय भएको उल्लेख छ।
विज्ञप्तिमा प्रवाह गरिने सेवालाई उच्च स्थानमा राख्दै सदाझै उपभोक्ताहरुले गरेको विश्वासका आधारमा विचलित नभई निःस्वार्थ सेवाका भावले कार्य संचालन गरिरहने अठोट व्यक्त गर्दै संस्थालाई अप्ठयारो पर्ने र यसको गरिमामाथि आँच आउने कुनैपनि क्रियाकलापहरु नगर्ने प्रतिवद्दता जनाईएको छ।
अध्यक्ष देवकोटाले संस्थाको हित नचाहने, सधै संस्थालाई अनिर्णयको वन्दी वनाई आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने केही व्यक्तिहरुले गरेको अपिलमा कुनैपनि सत्यता नभएकाले भ्रममा नपर्न सवैलाई अनुरोध गरेका छन् ।