२०८३ वैशाख २ , बुधबार

वादी समुदायका मागप्रति भूमि आयोग सकारात्मक: आज अध्यक्ष ज्ञवालीसंग कुरा हुने



सुर्खेत १७ फागुन

व्यवस्थित बसोबासको माग गर्दै धर्नामा बसेका वादी समुदायको माग प्रती भूमि सम्वन्धी समस्या समाधान आयोग सुर्खेतले सक्रियता देखाएको छ।

आयोगका अध्यक्ष ऐनवहादुर चन्दले उनीहरूको माग सम्वोधन गर्न आयोगको केन्द्रीय कार्यालयमा आईतवार अपरान्ह पत्राचार गरिसकेका छन् । हिजो दिउँसो आफ्ना मागहरु संवोधन गरिदिन आयोगको कार्यालय वीरेन्द्रनगर पुगेको वादी समुदायको टोलीलाई अध्यक्ष चन्दले आयोग उनीहरूको मागमा सकारात्मक भएकोले धैर्य गर्न आग्रह गरेका थिए।

अध्यक्ष चन्दले अव्यवस्थित वसोवासीहरुले मापदण्डअनुसार जहाँजति जमीन उपभोग गरेको छ, प्रकृया पुरा गरि दिने नीति सरकारको भएको वताए । स्थानीय तहले आन्दोलनकारी वादी समुदायको लागि जग्गा व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै त्यहाँ संभव नभएमा प्रदेश सरकार र प्रदेशले पनि नसके केन्द्रले व्यवस्थापन गर्ने सरकारी नीति भएको चन्दले प्रष्ट पारे।

‘सकभर उनीहरू जुन ठाँउमा वसोवास गरेका छन्, त्यहीँ ठाउँमा वसोवास गराउने कुरामा लाग्नु पर्छ,’ अध्यक्ष चन्दले खवरदृष्टिलाई प्रतिकृया दिदै भने,’सम्वन्धित स्थानीय तहले उनीहरुको जिम्मा लिई वसोवास गराउदा राम्रो हुन्छ, यसमा आयोगको पूर्ण सहयोग रहन्छ।’
अध्यक्ष चन्दले वादी समुदायको मागको वारेमा हिजो नै आयोगमा जानकारी पठाईसकिएको र आज आफुले आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीलाई टेलिफोन सम्पर्क गरि उनीहरूको माग संवोधन गर्न पहल गर्ने जानकारी गराए।

यसैबीच, हप्ता दिनदेखि आन्दोलित वादी समुदायविरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा लाठी प्रहार भएको छ । धर्नामा वसिरहेकै समयमा आइतबार दिउँसो उनीहरूमाथि लाठी प्रहार भएको हो ।

बादी समुदायले हिजो गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै विरोध जनाएका छन् । मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा वस्न जाँदा अन्धाधुन्ध रुपमा लाठीचार्ज भएको वादी अगुवा हिक्मत वादीले वताए । उनीहरूलाई नाराजुलुससहित मुख्यमन्त्री कार्यालयको गेटनजिक पुगेको वेला प्रहरीले लाठी हानेको थियोे ।

स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै दैलेख, सुर्खेत र कालिकोटका ४ सय वढी वादीहरु केही दिनदेखि कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७ फागुन १७ गते सोमबार