
चैत ७, सुर्खेत
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले नयाँ सरकार बनाउने दाबी गरेका छन् । नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यक्रममा आफ्ना धारणा राख्दै थापाले पाँच वर्ष सरकार चलाउन जिम्मा पाएका कम्युनिष्टहरुले चलाउन नसक्दा सरकार चलाउने जिम्मा आफुहरुको काँधमा आएको बताएका हुन् ।
जनताले नेपाली कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न भनेकोले प्रतिपक्षमा बस्न आएको तर, सरकार चलाउने मान्छे नभएपछि सरकारमा जानुपर्ने अवस्था आएको दाबी गरे। उनले कांग्रेसको चाहना अहिले सरकारमा जानुपर्छ भन्ने नभएको प्रष्ट पारे।
नेकपा एमालेको अहिलेको हालत बिजोग भएको र अदालतको निर्णय समेत गलत भएको वताए । उनले नेकपा मृत घोषणा भएको दिन न्याय भएन भन्ने आफुलाई लागेको र उक्त समयमा शोक वक्तव्य दिन मन लागेको बताए । उनले भने,‘नेकपा विभाजन हुँदा नेकपा नेताहरुले नै खुशीयाली मनाए’ उनले भने,‘ आफुहरु मिल्न नसक्ने कम्युनिष्टहरुले देश कसरी चलाउँछन?’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई भ्वाङ पारेको र त्यसलाई रोक्ने काम नेपाली कांग्रेसको भएको उनको धारणा छ ।
थापाले सरकारले गर्नुपर्ने काम नगरेर शिलान्यास, उद्घाटनमा समय खेर फालेको आरोप लगाए । कम्युनिष्टहरुले जनतालाई रेल देखाए तर, त्यहाँ भित्र जनता नभएको थापाले बताए ।
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने र देशमा निर्वाचन गराउने थापाले दाबी गरे । कांग्रेसले समुन्नत नेपालको खाकासहित जनता माँझ जानुपर्ने उनले बताए । वर्तमान सरकारले लगानी भित्र्याउन नसकेको उनको आरोप थियो ।