२०८३ वैशाख ३ , बिहीबार

विकासलाई राजनीतिक दृष्टिकोणले हेर्नु गलत : पूर्वमन्त्री कडेल



चैत्र १५, सुर्खेत

पूर्वमन्त्री तथा नेकपा एमाले कर्णाली प्रदेश ईन्चार्ज यामलाल कँडेलले हरेक विषयलाई राजनीतिक दृष्टिकोणले नहेरी विकासमा हातेमालो गर्दै अघि वढ्दै अघि वढ्नु पर्ने बताएका छन् ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको १९ औं बार्षिक साधारण सभामा उनले विकासको लागि दलगत स्वार्थ त्यागेर एक ठाउँमा आउनु पर्ने बताए ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थालाई कुन मोडलबाट संचालन गर्ने भन्ने बहस चलिरहेको भन्दै बैधानिक रुपमा अर्को विकल्प स्थापित नभएसम्म यसरी नै चलिरहने उल्लेख गरे । कुन मोडलबाट संस्थालाई संचालन गर्दा उपत्यकाबासीले राम्रोसँग खानेपानी उपभोग गर्न सक्छन भन्ने तर्फ सवैलाई उनले आग्रह गरे।

कर्णाली प्रदेश सभा सदस्य सीता नेपालीले छलफल र संवादबाटै समस्याको हल निकाल्न सकिने बताइन् । उनले खानेपानी जस्तो संवेदशिल संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नु पर्नेमा जोड दिईन् । अर्का प्रदेश सभा सदस्य पद्मा खड्काले राजनीतिक स्वार्थभन्दा माथी उठेर खानेपानीको बारेमा सोच्नु पर्ने वेला आएको उल्लेख गरिन् ।

सभामा वीरेन्द्रनगर पालिकाका अध्यक्ष देवकुमार सुवेदीले आपसी कुन्ठालाई त्यागेर नयाँ ढंगले अघि बढनु पर्नेमा जोड दिए । नेपाली काँग्रेसका चन्द्रप्रसाद थानीले खानेपानी संचालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिए।

नेकपा एमालेका नेता गणेशबहादुर ओली, माओवादी केन्द्रका नेता गंगाराम तिमिल्सेनालगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधीले शुभकामना व्यक्त गरेका थिए ।

सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै संस्थाका अध्यक्ष कुलमणि देवकोटाले देशभरी रहेका चार हजार खानेपानी उपभोक्ता संस्था मध्ये संचालन र व्यवस्थापनको रुपमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था सवैभन्दा उत्कृष्ट रहेको बताए ।

उनले सुर्खेत उपत्यकाबासीको खानेपानीको प्यास मेटाउन संस्थाले उल्लेखनीय काम गरेको पनि बताए । उनले खानेपानीको दीर्घकालिन समस्या समाधानको लागि ७ अर्व ५० करोडको लागतमा भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउने प्रक्रिया अघि बढेको जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत १५ गते आइतबार