२०८३ वैशाख ३ , बिहीबार

माओवादीमा पैह्रो: अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष तिमिल्सिना एमाले प्रवेश



चैत १६, सुर्खेत

अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष गंगाराम तिमिल्सेना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुर्खेतमा प्रभाव राख्ने उक्त पार्टीका जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेनाको एमाले प्रवेशले सुर्खेतको एमाले पंक्ति उत्साहित वनेको छ ।

अत्यन्तै गोप्य राखेर सोमवार अपरान्ह सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता एवम् प्रदेश कमिटी ईन्चार्ज यमलाल कडेलले तिमिल्सिनालाई पार्टीमा भित्र्याएका थिए । वीरेन्द्रनगर कमिटीको आयोजनामा कार्यकर्ता भेला नाम दिएर तिमिल्सिनालाई पार्टी प्रवेश गराईएको थियो ।

युवा पुस्ता माँझ लोकप्रिय तिमिल्सेना एमाले प्रवेश गर्ने हल्लाले नेकपा माओवादी केन्द्रमा भुईचालो गएको थियो। माओवादी सुर्खेतका नेताहरु तिमिल्सिनालाई खोज्न खटिएका थिए । फोन स्वीच अफ गरेर वसेका तिमिल्सिना रोकिन सक्ने अनुमान गरेर एमालेले पार्टी प्रवेशको कतै सुईको समेत नदिई कार्यक्रमलाई कार्यकर्ता भेलाको नाम दिएको थियो ।

अपरान्ह ४ः३० वजे तिमिल्सिना चलचित्र वोर्डका पूर्व अध्यक्ष एवम् पूर्व माओवादी नेता गणेश भण्डारीको साथमा कार्यक्रम स्थल प्रवेश गरेका थिए । लगत्तै सुरु भएको कार्यक्रममा तिमिल्सिनालाई एमाले प्रवेश गराईएको थियो ।

प्रवेश कार्यक्रमलाई संवोधन गर्दै तिमिल्सिनाले एमालेमा ईमान्दार कार्यकर्ताहरुको भविष्य उज्ज्वल देखेर आफु प्रवेश गरेको उनले बताए । उनले एमालेका नेता र कार्यकर्ताहरुवीच आफु सु– परिचित भएकोले घुलमिल हुन खासै समस्या नहुने उल्लेख गरे ।

उनले भने,‘पार्टी एकता जोगाउन, देशको समृद्धिका लागि र देशलाई अग्रगामी रुपमान्तरणका लागि एमालेको महत्वपूर्ण भूमिका छ ।’ उपत्यका भित्रका सयौं एमालेका अगुवा कार्यकर्ताहरु माँझ उनले एमालेले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउन सक्ने ठोकुवा गरे ।

उनले एमालेको नीति तथा विचार मन परेर पार्टी प्रवेश गरेको बताए । एमालेमा जुनसुकै जिम्मेवारी पाए पनि क्षमताले भ्याएसम्म बहन गर्ने वताए । कार्यक्रममा माओवादी वीरेन्द्रनगर नगर कमिटी सदस्य डिल्लीप्रसाद कँडेल समेत एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गराउँदै कँडेलले विगत कोट्याएर पार्टीमा कसैलाई पनि विभेद नगरिने विचार व्यक्त गरे । उनले भने,’विगतका तितामीठा सवै विर्सेर अघि बढौं ।’ उनले पार्टी भित्र समानान्तर कमिटीहरु वनाउने गलत अभ्यास देखिएको भन्दै नसच्चिए कार्वाहीको भागिदार वन्ने चेतावनी दिए । एमाले पार्टी कम्युनिस्ट पार्टीहरुको मूल प्रवाह भएको भन्दै सवैलाई एमालेमा गोलवन्द हुन आग्रह गरे ।

प्रकाशित मिति : २०७७ चैत १६ गते सोमबार