२०८३ वैशाख ५ , शनिबार

माधव समूहले सुसाईड गेम खेल्दा कर्णाली सरकार जोगियो

मुख्य नेता नै कार्वाहीमा पर्ने भएपछि कर्णाली प्रदेशमा उक्त समूह कमजाेर


बैशाख ३, सुर्खेत

कम क्षतिमै कर्णाली प्रदेशमा केपी ओली टिमले एमाले पार्टीभित्र वर्चस्व कायम गरेको छ । माधवकुमार नेपाल टिमको नेतृत्व गर्दै प्रदेशमा टिमगत भागवण्डामा दावी गर्ने समूहका नाईके प्रकाश ज्वाला लगायतका अन्य ४ जना कर्णाली प्रदेश सभामा ’फ्लोर क्रस’ गरेको अभियोगमा साधारण सदस्यवाटै निस्कासनमा पर्नेछन् ।

कर्णाली प्रदेशमा माधवकुमार नेपाल समूह अन्य प्रदेशको तुलनामा सशक्त रुपमा रहेको थियो । प्रदेश सभामा वहुमत स्थानमा विजयी भएपनि यमलाल कडेल माधव समूहका केही सांसदहरूको समर्थनको कारण एमाले संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।

दलको नेतामा निर्वाचित हुन नपाएपछि प्रकाश ज्वाला कडेलविरुद्धको अभियानमा सुक्ष्मरुपले लागिरहे। ताकमौकामा रहेका ज्वालाले यसपटक कँडेललाई घुडा टेकाउने भन्दै आफ्नै पार्टीका नेता कँडेललाई घात गर्ने निर्णय गरे। २०७८ साल वैसाक ३ गते मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई विश्वासको मत दिए ।

शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने क्रममा एमालेका ४ जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार वचाईदिएका छन् । एमाले कर्णाली प्रदेशका चार सांसदले पदीय र आर्थिक लेनदेनका आधारमा माओवादी केन्द्रको सरकार जोगाईदिएको उनीहरूमाथि गम्भीर आरोप लागेको छ ।

यश घटनाले नेकपा एमाले कठोर बनेको छ । पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबबहादुर शाहीको सरकार जोगाइ दिएपछि एमाले नेतृत्व कठोर बनेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र एमाले नेता माधव नेपालबीचको केन्द्रमा साँठगाँठ र प्रदेशमा आर्थिक चलखेलपछि एमालेका चार सांसद बिक्री भएको एमाले सांसद दानसिं परियार दाबी गर्छन् ।

कर्णालीको यो घटनालगत्तै एमाले महासचिव इश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवाली र स्थायी कमिटीका सदस्य शंकर पोखरेलले कडा प्रतिक्रियासहित कठोर कदम चाल्ने वताएका छन् भने एमाले कर्णाली प्रदेश संसदीय दलले चारै जना सांसदहरुलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कार्वाहीको सिफारिश गरेको छ ।

एमाले महासचिव इश्वर पोखरेलले कर्णाली प्रकरण क्षम्य नहुने बताए । ‘कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदमाथि तत्कालै कारवाही अघि बढ्छ,’ महासचिव पोखरेलले भने, ‘यो कुरालाई पार्टीले गम्भीर रुपमा लिएको छ । विधान र कानुन बमोजिम सम्बन्धित व्यक्तिहरु कारवाहीमा पर्छन् ।’

एमालेको संशोधिन बिधानले प्रदेशसभाका सदस्यहरुलाई कारवाही गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको छ । विधान र ऐनका प्रक्रिया पूरा गरेर प्रकाश ज्वाला, कुर्मराज शाही, अम्बर बहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने एमालेले जनाएको छ । यस्तै प्रवक्ता प्रदीप ज्ञवालीले पनि कर्णालीको अराजकतालाई क्षमा नदिने बताईसकेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कर्णाली घटना समानान्तर कमिटी गठनको परिणाम भन्दै अव सचेत बन्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

‘समानान्तर गतिबिधिको गन्तब्य कर्णालीको जस्तै हुने हो, समयमै सचेत बनौं, पार्टी र आन्दोलनको समय रक्षाका लागि निशर्त पार्टी काममा जुटौं,’ मुख्यमन्त्री पोखरेलले एक स्टाटस लेख्दै भने ।

प्रकाशित मिति : २०७८ वैशाख ३ गते शुक्रबार