सुर्खेत २४ बैशाख,
कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतले आइसोलेशन कक्ष निर्माण गरेको छ । प्रदेश सरकारको वजेट व्यवस्थापनमा आईसोलेशन संचालनको तैयारी गरिएको छ।
औषधालयले कोरोना संक्रमितहरुलाई उपचारमा सहज होस भन्ने उद्देश्यले तत्कालका लागि १५ शैयाकोे कोभिड आईसोलेशन कक्ष निर्माण गरेको हो । तत्काल १५ वेडवाट सुरु भएपनि निकट भविष्यमा ५० वेडसम्म विस्तार गर्ने योजना वनाईएको औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए।
‘योगाहलमा १० वेड थपेर २५ पुर्याईने र औषधालयकै माथिल्लो तल्लामा रहेको हलमा छुट्टै महिला आईशोलेसन वार्ड राख्ने वारेमा सोच वनाईएको छ,’ रिजालले भने, ‘दुवै ठाउँमा गरेर ५० वेड हुनेछ।’
आईसोलेशनमा अक्सिजन जोड्न पहल भईरहेको वताउदै डाक्टर रिजालले वजारमा अक्सिजन सिलिन्डर पाउनै नसकिएको गुनासो गरे। उनले औषधालयमा दक्ष जनशक्तिको समेत अभाव भएकोले यसको व्यवस्था हुने बित्तिकै आईसोलेशन सुरु गरिने जानकारी दिए।
उनले गत वर्षदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा आयुर्वेदिक पद्दती मार्फत प्रदेशभरीका क्वारेन्टाईन, आईसोलेशन, होम आईसोलेशन र भ्यान्टिलेटरमा रहेका विरामीलाई समेत उपचार गरिएको जानकारी दिए।
झण्डै १८ हजार कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिसकिएको र यहि दरमा माग भए १ महिनालाई मात्रै पुग्ने औषधी स्टकमा रहेको उनले वताए ।
डाक्टर रिजाल प्रदेश आयूर्वेद औषधालयको नेतृत्वमा आएसंगै आयूर्वेद र यसको महत्त्वको वारेमा विभिन्न फोरमहरुमा विशेष छलफल चलाएका थिए। कोरोना रोगको औषधि नवनिसकेको अवस्थामा समाजमा प्राकृतिक चिकित्सा (आयूर्वेद) र यसको महत्व वढ्दै गएको छ।