
सुर्खेत २, जेठ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश सभा संसदीय दलले कोरोना महामारीले कर्णाली प्रदेशभरिको अवस्था जटिल वन्दै गैरहेको भन्दै अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराईदिन संघीय सरकार समक्ष माग गरेको छ।
प्रदेश सरकार मातहत रहेको कर्णाली प्रदेश अस्पतालले अक्सिजनको अभावमा थप विरामी भर्ना नलिने सूचना प्रकाशित गर्नु दुखद कुरा भएको मागपत्रमा उल्लेख गरिएको छ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेल र सोही दलका प्रमुख सचेतक गुलावजंग शाहले कोरोनाका कारण कर्णाली प्रदेशका जनताले अनाहकमा ज्यान गुमाउनु परिरहेको भन्दै स्वास्थ तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी समक्ष आज विभिन्न ४ वटा मागहरु राखेका छन्।
संसदीय दलले कर्णाली प्रदेश अस्पतालमा दैनिक कम्तीमा ५ सय सिलिन्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न वजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन माग गरेको छ।
यस्तै, कर्णालीका जिल्ला अस्पतालहरुमासमेत न्युनतम सेवाहरु उपलब्ध गराउन अक्सिजन प्लान्ट स्थापना, आवश्यक वजेट र जनशक्तिको माग गरिएको छ।
प्रदेश अस्पताल वीरेन्द्रनगर र प्रदेश भित्रका सवै जिल्ला अस्पतालहरुलाई तत्काल ५ सयका दरले अक्सिजन सिलिन्डर उपलव्ध गराउन माग गरेको छ।
दलले केन्द्रीय सरकारलाई आवश्यक आईसियू र भेन्टिलेटर सहितका वेड र औषधीको व्यवस्थापन गरिदिन पनि आग्रह गरेको छ।
यस्तै, कर्णाली प्रदेशवाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने धुर्वकुमार शाही, पार्वती विशुन्के, राजवहादुर वुढाक्षेत्री र मोहोन वानियाले आजै स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटी कर्णाली प्रदेशमा सोही व्यहोराको आवश्यक स्वास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराईदिन माग गरेका छन्।
