
वीरेन्द्रनगर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि कालिकोटको खाँडाचक्र नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । खाँडाचक्र नगरपालिकामा प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले भूकम्प पीडित नागरिकलाई सहयोग गर्न नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँको चेक शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्त्रण गरेका हुन् ।
नगरप्रमुख शाहीले चेक हस्तान्त्रण गर्दै भूकम्प प्रभावित जिल्लाका नागरिकलाई राहत तथा पुनर्निर्माणका लागि एकद्वार प्रणालीबाट सहयोग गर्न आफूहरुले खाँडाचक्र नगरपालिकाको तर्फबाट राहत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमार्फत वितरण होस् भन्ने उद्देश्यले मुख्यमन्त्रीलाई चेक हस्तान्त्रण गरेको बताए ।
नगर प्रमुख शाहीले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा गएर छुट्टाछुट्टै राहत वितरण गर्दा लक्षित समूहमा नपुग्ने, भुकुम्प प्रभावित नागरिकहरु सबैको घाउमा मल्हम लगाउन नसकिने भएकाले हामीले संस्थागत रुपमा सहयोग गरेका हौं ।’
यसैगरी खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाही आकासले स्थानीय सरकारको तर्फबाट राहत तथा उद्धारमा कुनै कसर बाँकी नराखी लागेपनि आर्थिक सहयोग गर्न नसकेको बेला नगरपालिकाका सम्पूर्ण वडाहरुको सहयोगबाट पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गर्न मुख्यमन्त्रीलाई चेक हस्तान्तरण गरिएको बताए ।
उनले भने, ‘पूर्वलाई दुस्ख पर्दा पश्चिमले सहयोग गर्नुपर्छ, पश्चिमलाई पर्दा पूर्वले सहयोग गर्नुपर्छ, त्यसैले स्थानीय सरकारको तर्फबाट सहयोग गरेका हौं ।’ खाँडाचक्र नगरपालिकाको तर्फबाट आएको सहयोग रकमको चेक बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अब कर्णालीमा भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माणका लागि प्रभावकारीरुपमा भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताए ।
उनले भने, ुहामीले विगतका विपद्का घटनाहरुबाट पाठ सिक्दै पालिकास्तरबाटै भवन निर्माण आचारसंहिता लागू गरौं । कर्णालीका दश वटै जिल्लाका प्रायस् वस्तीहरु भूकम्पबाट सुरक्षित हुने अवस्थाका नभएकाले स्थानीय तथा प्रदेश सरकार र संघ सरकारका जिम्मेवार प्रतिनिधिहरुले समयमै सोच्नुपर्ने बेला आएको छ ।
पालिकाहरुले आफ्नो पालिकामा बन्ने नयाँ भौतिक संरचनाका साथै स्थानीयका घर निर्माणका लागि भवन निर्माण आचारसंहिता अनिवार्य लागू गर्ने गरी कडाइ गर्नुपर्छ । विज्ञहरुका अनुसार नेपाल भूकम्पको उच्च जोखिममा रहेको छ । आगामी दिनमा भूकम्पका कारण हरेक नागरिकको जीउधनको सुरक्षा गर्न अहिलेबाटै लाग्नुपर्ने बेला आएको छ ।’
सहयोग हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री मंगल शाही, उर्जामन्त्री उर्मिला बिक, प्रमुख सचिव चुडामणि पौडेलसहति सरोकारवालाहरुको सहभागिता रहेको थियो । खाँडाचक्र नगरपालिकाको राहत तथा उद्धार टिमले प्रत्येक वडाबाट स्वयंसेवक दल गठन गरी भुकुम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएर उद्धार कार्यमा सलग्न गराइ नागरिकका घर टहरा निर्माण गरेको थियो ।
खाँडाचक्र नगरपालिकाको मुख्य केन्द्रबिन्दु सदरमुकाम मान्म पनि भूकम्पको उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी घर, भवन निर्माणमा स्थानीय सरकार सचेत रहेको नगर प्रमुख र उपप्रमुखको भनाइ छ ।