
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको रमणीय स्यार्पु तालको आकाशमा आजभोलि प्याराग्लाइडिङ उडिरहेकोका हुन्छन् । तर व्यावसायिकरुपमा नभइ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको हो ।
तालको पर्यटन प्रवर्द्धनका निम्ति प्याराग्लाइडिङ परीक्षण भएको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलवीर केसीले बताए । परीक्षण सफल भएपछि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन हुनेछ ।
सानो बाबु सुनुवारको टिमले परीक्षण गरिरहेको छ । पहिलो चरणको परीक्षण गत १७ गते सकिएपछि १९ गतेदेखि दोस्रो चरणको परीक्षण शुरु गरिएको होटल व्यवसायी हिरालाल केसीले जानकारी दिए ।
सुनुवारले १०/१५ वर्षपछि स्यार्पु ताल नेपालको एउटा गन्तव्य बन्ने बताए । तालको पर्यटन प्रवर्द्धनमा आफू लागिपर्ने उनको भनाइ छ । ३ नम्बर वडाले तालको प्रवर्द्धनमा भूमिका खेलेपनि बाँफिकोट गाउँपालिकाले यस विषयमा कुनै चासो लिएको छैन ।
ताल संरक्षणमा गाउँपालिकाले विशेष ध्यान दिन जरुरी रहेको स्थानीयहरु बताउँछन् । स्यार्पु तालमा नेपाल सरकार र विभिन्न संघ संस्थाले विभिन्न संरचना निर्माण गरेपनि अहिले ती प्रयोगविहीन रहेका छन् ।