
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चर्चित ‘हङ्गकङ बजार’ अब जुम्लारोडमा सञ्चालनमा आउने भएको छ । सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै हङ्गकङ बजारका व्यवस्थापक भुवन ज्ञवालीले करिब १५ करोड लागतमा वीरेन्द्रनगर नगरपालिका–६ हटिया क्षेत्रमा सञ्चालित हङ्गकङ बजार अब जुम्लारोडमा रहेको बजाज सोरुमको नजिकैबाट सञ्चालनमा आउन लागेको जानकारी दिए ।
ग्राहकहरुको आवश्यकता र मागलाई मध्यनजर गर्दै अबको एक महिनाभित्रै बजार पूर्ण रुपमा सञ्चालन हुने बजारका उनको भनाइ छ । यसअघि २०६० सालदेखि वीरेन्द्रनगर–६ हटिया क्षेत्रमा सञ्चालित हङ्गकङ बजारलाई वीरेन्द्रनगर नगरपालिकाले आफ्नो मातहतमा लिएपछि व्यापार गरिरहेका व्यापारीले जुम्लारोडबाट जग्गा भाडामा लिएर सेवा दिने निर्णय गरेका हुन् ।
हङ्गकङ बजार सञ्चालनमा आएपछि २ सय भन्दा धेरैले रोजगारी पाउने उनको भनाइ छ । व्यवस्थापक ज्ञवालीले बजार व्यवसाय मात्रै नभएर सेवामूलक पनि रहने बताए ।
सुर्खेतमा सस्तो र सुपथ मुल्यमा कपडा बिक्री गरिरहेका हङ्गकङ बजारका व्यापारीहरुले नयाँ स्थानबाट थप सेवा र सुविधासहित सेवा दिन लागेको बताएका छन् । हङ्गकङ बजारमा ५० वटा व्यापारिक सटर रहने बताइएको छ ।