२०८३ मंसिर ५ , शुक्रबार

चीनको ताक्लाकोटसँग हुम्लावासीको निर्भरता बढ्दै



हुम्ला । हुम्लाको हिल्सा नाका कर्णाली प्रदेशको समृद्धिको आधार मानिन्छ । हुम्लाको सदरमुकाम सिमकोटदेखि हिल्सा नाकासम्म ९५ किलोमिटर दुरीमा गाडी चल्न थालेपछि चीनको ताक्लाकोटसँग हुम्लावासीको निर्भरता बढेको छ । हुम्लाको सिमकोट गाउँपालिका र चीनको सिमानासँग जोडिएको नाम्खा गाउँपालिकाका अधिकांश नागरिक ताक्लाकोटमा होटल, पसल र अन्य व्यवसाय गरेर जीविकोपार्जन गर्छन् भने केही नागरिकहरू श्रम गरेर ताक्लाकोटमा बस्ने गरेका छन् ।

हिल्सा नाकाबाट दैनिक ५५ देखि ६० जना नेपालीहरू आउजाउ गर्दै आएको हिल्सा प्रहरी चौकीले जानकारी दिएको छ । दैनिक उपभोग्य वस्तु र मजदुरी गर्न ताक्लाकोट जानेहरूको संख्या बढदै गएको हिल्सा प्रहरी चौकीको भनाइ छ । हिल्सा नाका खुलेपछि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले ६ हजार १ सय ३९ जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ ।

१ हजार ९ सय ५ जना महिला र ४ हजार २ सय ३५ जना पुरुष गरी ६ हजार १ सय ३९ जनाले सीमा पास लिएको कार्यालयले जनाएको छ । दैनिक जिल्ला प्रशासन कार्यालय हुम्लामा १० देखि १५ जनासम्मले सीमा पास लिने गरेका छन् । सिमकोट गाउँपालिकाबाट ५ सय ९९ जना महिला र १ हजार २ सय ८२ जना पुरुष गरी १ हजार ८ सय ८१ जनाले सीमापास लिएका छन् ।

खापुनार्थ गाउँपालिकाबाट ८७ जना महिला र ४ सय १२ जना पुरुष गरी ५ सय ५ जनाले पास लिएका छन् । सर्केगाड गाउँपालिकाबाट १५ जना महिला र ४ सय २० जना पुरुष गरी ४ सय ३५ जना र चंखेली गाउँपालिकाबाट ६१ जना महिला र २ सय ४० जना पुरुष गरी ३ सय १ जनाले सीमा पास लिएका छन् ।

अदानचुली गाउँपालिकाबाट १३ जना महिला र १ सय ६० जना पुरुषले सीमा पास लिएका छन् । ताजाँकोट गाउँपालिकाबाट ११ जना महिला र १ सय ८८ जना पुरुष गरी १ सय ९९ जनाले सीमा पास लिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार