
सुर्खेत । सुर्खेतका एग्रोभेटवालाहरूले किसानहरूलाई चर्को मूल्यमा औषधी र चारो बिक्री गरेर चरम आर्थिक शोषण गरिरहेका छन् । यहाँका किसानहरूले ३ हजार ३ सय प्रतिबोराको दरले आउने चारोलाई ४ हजार ३ सयदेखि ४ हजार ४ सयमा बिक्री वितरण गर्दा पनि प्रशासन मौन छ । कुखुराको औषधीमा मूल्य प्रिन्ट नभएको र पोल्ट्री फिड सप्लायर्सले औषधीमा २ सय प्रतिशतसम्म नाफा लिएको किसानहरू गुनासो गर्दछन्।
सप्लायर्सहरुले बाहिरबाट चल्ला र दाना ल्याए कुखुरा उठाउन नदिने आफूहरूबाट चर्को मूल्यमा लिएका चल्ला, दाना र औषधी बेच्न बाध्य पार्ने गरेको काँक्रेविहार लाइभ स्टकका सञ्चालक चिन्तामणि शर्माले बताए । उनले सामाजिक सञ्जालमार्फत सुर्खेतमा एग्रोभेटवालाहरुको चरम दादागिरी रहेको बताएका छन् ।
उनले तीन हजार तीन सयमा आउने १ बोरा चारोलाई ४ हजार ३ सयदेखि ४ हजार ४ सयसम्म खुलेआम बिक्री वितरण गरिरहेको बताए । कुखुराको औषधीमा पनि प्रिन्ट मूल्य नभएको २ सय प्रतिशतसम्म नाफा लुटिरहेका उनको आरोप छ। किसानहरूलाई चर्को मूल्यमा दाना,चल्ला र औषधी किन्न बाध्य बनाउन छुट्टै समिति बनाएर सिण्डिकेट लागू गरेको र उपभोक्तालाई पनि मासुमा बढी मूल्य तिर्न बाध्य पारेको उनले बताए।
तर, क्षितिज पोल्ट्रीफिड सप्लायर्सका सञ्चालकले आफूहरूले सिण्डिकेट बनाएर किसानलाई चर्को मूल्यमा सामान किन्न बाध्य नपारेको दाबी गरे। उनले सिण्डिकेट लागू नगरेको र किसानहरूको सहजताका लागि व्यवसायी समिति गठन गरेको जानकारी दिए । उनले किसानहरूलाई सस्तो मूल्यमा चारो, दाना, औषधी र चल्ला उपलब्ध गराइरहेको दाबी गरेका छन् ।
विष्णु एग्रोभेटका सञ्चालक रुद्र चपाइले अरूले उत्पादन गरेका कुखुराहरूलाई स्थान नदिने र आफूहरूले लगानी गरेका किसानहरूका कुखुरा मात्रै किन्ने भन्दै घुमाउरो हिसाबले सिण्डिकेट लगाइएको स्वीकार गरे। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले एग्रोभेटहरुले दाना, औषधि लगायतमा मनोमानी भएको बारे अहिलेसम्म जानकारी नआएको बताए ।
उनले उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले यसबारेमा चासो दिनुपर्ने बताए । कृषि र भेटेरिनरी कार्यालय लगायतले अनुगमन गर्नुपर्ने हो,’ प्रमुख आचार्यले भने, ‘मलाई यो बारेमा केही खबर आएको थिएन, अब यसबारेमा बुझेर गलत देखिएको भए कारबाही गर्छु ।’ उनले सत्य तथ्य बुझेर कैफियत भएको पाइएमा कारबाही गर्ने जनाए ।