बड्डीचौर खम्बागाडे सडक

सम्झौता अवधि थप, सडक निर्माण कार्यमा ठेकेदारको ब्रेक

कुलेन्द्र शाही २७ मंसिर २०८१, बिहीबार ०९:३६

कुलेन्द्र शाही, सुर्खेत । ६ साउन २०७९ मा पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जोड्ने बड्डीचौर–खम्बागाडे सडकको शिलान्यास गरियो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय सुर्खेत अन्तर्गत बड्डीचौर–विभ्रेनी–बाबियाचौर विद्यापुर सडकखण्डमा बन्ने उक्त सडकको कर्णाली प्रदेश सरकारका तत्कालिन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शिलान्यास गरेका थिए ।

शिलान्यासमा मन्त्री बुढाक्षेत्रीले सडक निर्माण, कालोपत्रसहित जिम्मा लिएको अनक–जयदेवी जेभी बाँकेलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । तर उनले दिएको निर्देशनको ठेकेदारले सोझै अवज्ञा ग¥यो । सडक निर्माणले पूर्णता पाउने छाँटकाँट भने अझै पनि कतै देखिएको छैन् । स्थानीय तहले निर्माण कार्यलाई बेवास्ता गर्दा सडक अलपत्र भएको स्थानीयको आरोप छ ।

सम्झौता अवधि थप, काममा ब्रेक
निर्माणको जिम्मा लिएको ठेकेदारले काममा अहिले पनि सुरसार गरेको छैन् । सम्झौता अवधि सकिएर फेरि आउँदो असारसम्मका लागि एक वर्ष समय थप गरिएको छ । २ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको सुर्खेतको बड्डीचौर खम्बागाडे सडकको सम्झौता अवधि गत असार २४ गते सकिएको थियो । तर सम्झौताको पहिलो म्याद सकिदाँसम्म सडक निर्माणको भौतिक प्रगति भने जम्मा १८ प्रतिशत मात्रै भएको छ । १३ किलोमिटर सडकको स्तरोन्नती सहित कालोपत्रे गर्नका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेत र अनक जयदेवी बीच १४ असार २०७९ मा सम्झौता भएको थियो ।

निर्माण कम्पनीले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का लिएको थियो । २ वर्षमा सक्ने भनिएको निर्माण कार्यको सम्झौता अवधि सकिएर फेरी आउदो असारसम्मका लागि एक वर्ष समय थप गरिएको छ । थपिएको समय अवधिभित्र काम सक्ने गरी निर्माण कम्पनीले अझै केही सुरसार गरेको छैन । कामममा ढिलाई गरेपछि निर्माण कम्पनीको चौतर्फि आलोचना भइरहेको छ ।

दबाब दिन स्थानीयले रुख–रुखमा ठेकेदारको फोटो टाँसेर विरोध गरेका थिए । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडकमा पश्चिम सुर्खेतको बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकाका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् । संघीय सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत राखेको भएपनि स्तरोन्नतिको काममा ढिलाई भएको भन्दै सोही मापदण्ड बमोजिम निर्माण गर्नेगरी कर्णाली प्रदेश सरकारले बड्डीचौर–खम्बागाडेसम्मको सडकखण्डको ठेक्का लगाएको थियो ।

निर्माणको जिम्मा लिएका दिक्पाल शाही हाल दैलेख निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य छन् । शाही सांसदमा निर्वाचित भएपछि भने कम्पनीको जिम्मेवारी उनका छोरा सन्देश शाहीले सम्हाल्दै आएका छन् । निर्माण कम्पनीले रुख कटान, जग्गा भोगाधिकार लगायतका सरकारी प्रक्रियामा ढिलासुस्ती भएका कारण नै काममा सुस्तता आएको दाबी गरेको छ । त्यस्तै बालुवा गिट्टी संकलनका लागि स्थानीय तहबाट उचित सहयोग नपाएको आरोप पनि निर्माण कम्पनीले लगाएको छ ।

यता स्थानीय तह भने आफूहरुबाट निर्माण कार्यका लागि आवश्यक सबै सहयोग भइरहेको बताउँछ । रुख कटान बाँकी छोडेर अन्य ठाउँमा काम गर्न सकिने अवस्था भएपनि ठेकदार कम्पनीले रुखलाई नै देखाएर ढिलासुस्ती गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आई.ई.ई.प्रतिवेदन अनुसार उक्त सडक खण्डमा ८ सय रुख कटान गर्नुपर्नेछ । तर रुख कटान गर्नु नपर्ने करिब आधाभन्दा बढी क्षेत्रफलमा पनि काम नगरेको पूर्वाधार निर्देशनालयको भनाई छ ।

सडक निर्माणमा भैरहेको ढिलाईबारे गत साउनमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले समेत सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई राखेर छलफल गरेका थिए । तर छलफलपछि पनि निर्माण व्यवसायीले काम सुरु गरेका छैनन् । थप गरिएको एक बर्षभित्रै निर्माण सम्पन्न गर्नेगरी काम गर्न बारम्बार ताकेता गरिरहेको पूर्वाधार निर्देशनालयको भनाई छ ।

सडक सञ्जाल नागरिकको सहजता र विकासका लागि अति महत्पूर्ण पक्ष हो । त्यसैले राजनीतिक आडमा ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्दा पश्चिम सुर्खेतबासीले दुख त पाएका छन् नै यो कार्यले देशको नियम कानुनलाई नै गिज्याइरहेको छ भने देशमा जे काम पनि कहिल्यै समयमा पुरा हुँदैन भन्ने भाष्यलाई स्थापित गर्न झन मलजल गरिरहको छ ।

Next Post

सुपर ओभरमा विराटनगरलाई पोखराले हरायो

२७ मंसिर २०८१, बिहीबार ०९:३६
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको खेलमा रोमाञ्चक रुपमा पोखरा एभेन्जर्सले जित हासिल गरेको छ । पोखराले विराटनगर किंग्सलाई सुपर ओभरमा १३ रनले पराजित गरेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलकै पहिलो सुपर ओभरमा विराटनगरले कमजोर प्रदर्शन गर्यो । १९ रनको लक्ष्य पछ्याएको विराटनगरले मात्र पाँच रन बनाउन […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031