काठमाडौं । आज (सोमबार) देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेश प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । पश्चिमी वायुको प्रभावका कारण हिजोदेखि नै मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।
हुस्सु र कुहिरो लागेसँगै जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईंका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए ।
कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो । शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।