२०८३ वैशाख २७ , आइतबार

जाजरकाेटमा पहिलो पटक हेपाटाईटिस ‘बी’ रोगको शल्यक्रिया



जिल्ला अस्पतालमा जाजरकोटमा शल्यक्रिया गर्दै चिकित्सक टोली

जाजरकोट । पछिल्लो समय जिल्ला अस्पताल जाजरकोटले आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएको छ । अत्यन्तै दुर्गम भनेर चिनिने जाजरकोट जिल्लामा अस्पतालले भने एकपछि अर्को गर्दै सेवा प्रवाहमा फड्को मारेको छ । जसमा जाजरकोट जिल्ला अस्पतालमा पहिलो पटक हेपाटाईटिस ‘बी’ पोजेटिभसँगै रक्तग्रुप नेगेटिभ रोगको सफल शल्यक्रिया गरिएको छ ।

अस्पतालमा सोमबार एकैदिन हेपाटाईटिस ‘बी’ पोजेटिभ र अन्य तीनजना जटिल सुत्केरी महिलाको सर्जरीमार्फत शल्यक्रिया गरिएको हो। पहिलो पटक जाजरकोटमा एकै दिनमा चारजना महिलाको शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पताल जाजरकोटका एनेस्थेसिया तथा ओटी फाँट प्रमुख महेश केसीले गरेको जानकारी दिए ।

‘हेपाटाईटिस ‘बी’ पोजेटिभ रोग त पहिलो पटक गरिएको हो,’ उनले भने, ‘अन्य तीन जनाको सुत्केरी महिलाको पनि एकै दिनमा शल्यक्रिया गरिएको यो पहिलो रेकर्ड हो ।,’ भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका महिलाको सफल शल्यक्रिया गरेको उनले बताए । सामान्यतया हेपाटाइटिस ए, बी, सी डी र ई गरी पाँच प्रकारका भएको बताउँदै त्यसमध्ये हेपाटाइटिस ‘बी’ सबैभन्दा बढी घातक रोग उनको भनाइ छ ।

हेपाटाइटिस ‘बी’ भएमा यसले कलेजोलाई क्षतविक्षत बनाई मानिसको मृत्यु समेत गराउन सक्ने भएकाले यसबाट बच्न हेपाटाइटिस ‘बी’ को खोप अनिवार्य लगाउनुपर्ने बताए । उनले यो रोग रगत, थुक, पिसाब, वीर्य, शारिरिक सम्पर्क लगायतको कारण एक व्यक्तिबाट अर्कोमा सर्ने गरेको बताए ।

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार