जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ९ बडाकाँडामा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गाउँका किसानहरूलाई घरमै स्वास्थ्य सेवा र प्राविधिक सल्लाह उपलब्ध गराउने उद्देश्यले पशुपन्छी विकास शाखाको आयोजनामा शिविर सञ्चालन गरेको हो ।
शिविरमा करिब ६५ जना किसानहरूले आफ्नो गाई, भैंसी, बाख्रालगायतका पशुको स्वास्थ्य परीक्षण गराएका थिए। शिविरका क्रममा बिरामी पशुहरूको उपचार, आवश्यक औषधि वितरण, पोषण सुधारका लागि घाँसको बिउ वितरण र पशुपालनसम्बन्धी प्राविधिक सल्लाहहरू प्रदान गरिएको शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले जानकारी दिए।
उनले पशुमा देखापर्ने विभिन्न रोगको रोकथाम, उचित खुराक व्यवस्थापन र स्वच्छता सम्बन्धी किसानहरुलाई जनचेतनामूलक जानकारी समेत दिएको बताए । शिवालय गाउँपालिका पशुपन्छी विकास शाखाका प्राविधिक टोलीले किसानहरूका घरआँगनमै पुगेर सेवा प्रदान गरेकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका थिए ।
उनीहरूले गाउँमै यस्तो सेवा पाउँदा उपचारका लागि टाढासम्म जानुपर्ने झन्झट घटेको बताए । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरहरू अन्य वडामा विस्तार गर्दै किसानलाई अझ सशक्त र आत्मनिर्भर बनाउने योजना बनाएको पशुपन्छी विकास शाखाले जनाएको छ।