
उच्च अदालत सुर्खेतले विद्यार्थी भर्ना गर्दा कुनैपनि शुल्क लिने नपाउने अन्तरिम आदेश जारी गरेसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सकृयता बढाएको छ । वीरेन्द्रनगरका ठूला भनिने विद्यालयहरुले नै मोटो रकम भर्ना र मासिक शुल्कका नाममा उठाउन थालेपछि अदालतमा रिट दायर भएको थियो ।
बार्षिक करोडौं आम्दानी भएको नेपाल पश्चिमकै राम्रो आन्तरिम आम्दानी भएको जन नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट शुल्क उठाईरहेको अवस्थामा अख्तियारले छापा मारेको हो ।
अख्तियारको सुर्खेतस्थित कार्यालयले वीरेन्द्रनगर वडा नं ६ मा सञ्चालित उक्त विद्यालयबाट २ लाख ७६ हजार ६ सय ९० रुपैयाँसहित २ जना कर्मचारीहरुलाई नियन्त्रणमा लिएको छ । अख्तियारवाट बुधबार खटिईगएको टोलीले विद्यालयका कार्यालय सहायक र सूचना सहायकको टेवुलको घर्रा र दराजबाट सो रकम नियन्त्रणमा लिएको हो ।
साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उतीर्ण विद्यार्थीहरूबाट उच्च अदालत सुर्खेतको २०७८ मंसिर ८ गतेको परमादेश र २०७९ जेठ २३ गतेको अन्तरिम आदेश विपरित विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बील समेत नदिएको उजुरी आयोगको कार्यालयमा परेको थियो । सोही उजुरी निवेदनका आधारमा आयोगको कार्यालयबाट खटिगएको टोलीले रकम नियन्त्रणमा लिएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।
विना रसिद विभिन्न विद्यार्थीहरूबाट लिइएको २ लाख ७६ हजार ६९० रूपैयाँ र सो सम्बन्धि सम्पूर्ण कागजात नियन्त्रणमा लिइ आवश्यक कारबाहीको प्रकृया अगाडी बढाइएको सूचना अधिकारी रिजालले जनाए । उनले विना रसिद शुल्क असुल गरेको भन्ने व्यहोराको यस्तै प्रकृतिको अन्य विद्यालयहरूको उजुरी उपर समेत छानबिन भैरहेको जानकारी दिए ।
अन्य विद्यालयको तुलनामा उच्च आन्तरिक आय भएको जन उच्च माध्यमिक विद्यालयले कुनै शुल्क नलिई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षमता र हैसियत राख्ने गर्दछ । तर, विद्यार्थीहरुबाट चर्काे शुल्क उठाई अध्यक्ष र प्रधानाध्यापकले व्यक्तिगतरुपमा खर्च गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा जन माविमा कार्यरत एक शिक्षकले वताए ।
भौतिक संरचनाहरु बनाउदा समेत कुनैपनि डिजाइन स्टिमेट तैयार नगरी हचुवाका भरमा बनाउने गरेको देखिएको छ । विद्यालयको कम्पाउण्डमा वनेका पसलहरु सरकारी मापदण्डअनुसार बनेका छैनन् । कमजोर र पुराना भवनहरुमाथि तला थप्दा संरचनाले धान्ने नधान्ने वारे अध्ययन नगरी बनाईएको छ ।
भौतिक संरचनाहरु बनाउदा ठूलो आर्थिक चलखेल हुने गरेको विद्यालयमा कार्यरत शिक्षकहरु वताउँछन । पसल भाडामा दिईएका भवनहरु माथि तल्ला थप्दा ठूलो आर्थिक घोटाला भएको उनले बताए । विद्यालयमा पुराना भवनहरु भत्काउने र नयाँ बनाउदा ईट्टा लगायतका सामानहरु पुनः प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।
“कागजमा दुरुस्त राख्छन । तर, काम सवै डुप्लिकेट छ,“ उनले भने,“ सार्वजनिक सुनुवाइ गर्दा पुरै सेटिङ्मा मानिसहरु ल्याईन्छ, केही सीमित कर्मचारी र शिक्षकहरुलाई मात्रै जानकारी दिईन्छ, हामी विद्यालयमै हुन्छौ । कहिकतै जानकारी दिईन्न ।“
पसल राख्न दिईएका कोठा भाडामा पनि ठूलो भ्रष्टाचार भैरहेको आशंका गरिएको छ । भाडा बस्नेहरुसंग एउटा भाडा लिने र आन्तरिक रेकर्ड राख्दा अर्को राख्ने गरिएको ती शिक्षकले जानकारी दिए ।
कर्मचारी र शिक्षक भर्ना गर्दा आफ्ना नातागोता र भाइ वैनीलाई मात्रै प्राथमिकता दिएको उनले वताए । अध्यक्ष गोविन्द कोईरालाको श्रीमती देखि लिएर प्रधानाध्यापक याम श्रेष्ठका धेरै आफन्त मात्रै जागिरको लागि योग्य हुन्छन् ।
विधि पु¥याउने वाहेक एउटा मात्रै पनि राम्रो काम विद्यालयले नगरेको उनले वताए । नयाँ नियुक्त भएका अस्थायी र करार कर्मचारीहरु कोईराला र श्रेष्ठका घरपरिवारका सदस्यहरु मात्रै भएको उनले जानकारी दिए ।
अख्तियारले जन माविमा भएको अन्य भ्रष्टाचारलाई पनि अनुसंधान गरिदिन उनले आग्रह गरेका छन ।