
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरु आन्तरिक जोड–घटाउमा जुटेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा वनेको गठवन्धन र एमाले बीचमा हुने प्रतिस्पर्धालाई चासोको विषयको रुपमा हेरिएको छ ।
सुुर्खेतको हकमा पनि संभवत एमालेले गठवन्धनसंग एक्लै भिड्नु पर्नेछ । एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने सुर्खेतमा नेकपा माओवादी मिसिदा गठवन्धनको पल्लाभारी देखिन्छ । तर, गत स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै बलियो भएको ठाउँमा पनि एमालेले गठवन्धनलाई परास्त गरेको थियो । एमाले भन्दा कांग्रेस एक्लै बलियो भएको वीरेन्द्रनगर र चिंगाडमा गठवन्धन गर्दापनि कांग्रेसको हार भयो ।
पार्टी भित्रको दुई खेमा बीच सहमति नभए फेरिपनि निर्वाचन हार्न सकिने स्वयं कांग्रेसका जिल्ला नेताहरु नै बताउन थालेका छन । केन्द्रमा देउवा भर्सेज कोईराला र सुर्खेतमा खड्का भर्सेज थानी हुने कांग्रेस भित्रको राजनीतिले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम नआएको भन्दै सकभर दुबैलाई मिलाउने तल्लो तहका कार्यकर्ताहरुले अभियान सुरु गरेका छन । उनीहरुको अभियानले सार्थकता पाए कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १ र पूर्व केन्द्रीय सदस्य हृदयराम थानी सुर्खेत २ वाट भिड्नेछन् । प्रदेशका सिटहरुमा १ (क) बाट कांग्रेस जिल्ला सभापति खड्क पोखरेल, २ (ख) बाट कमलराज रेग्मीले टिकट पाउनेछन् ।
गठवन्धनबाट १ (ख) बाट माओवादीका कृष्ण जिसी र २ (ख) बाट माओवादीकै बिन्दमान विष्ट गठबन्धनको तर्फबाट प्रदेश सभाका लागि चुनावमा होमिनेछन । समाजवादीले सुर्खेतमा टिकट पाउन मुस्किल देखिन्छ । तैपनि गठवन्धनमा दवाव वढाउन नेकपा एसका जिल्ला अध्यक्ष मोहन वडुवालले सुर्खेत २ (ख) बाट उम्मेदवारी घोषणा गरिसकेका छन ।
कांग्रेसभित्र सहमति नभएमा पूर्णबहादुर खड्का सुर्खेत १ र क्षेत्र नं २ नेकपा माओवादीलाई दिने सम्भावना प्रवल छ । यसो हुँदा क्षेत्र नं २ बाट विन्दमान विष्टले टिकट पाउने लगभग निश्चित छ । सुर्खेत २ को (क) बाट देवकुमार सुवेदी या जिल्ला उपसभापति विष्णुवहादुर खड्का र (ख) बाट जिल्ला उपसभापति टोपवहादुर रावतले टिकट लिनेछन् ।
सुर्खेतमा विकास भएको दुई धुर्विय राजनीतिलाई क्रस गर्न कांग्रेसका दुवै नेता नउठेर सुर्खेत क्षेत्र नं १ बाट खड्क पोखरेल या जिल्ला उपसभापति विष्णु खड्का र सुर्खेत २ बाट शक्ति केन्द्रको साथ र सहयोग पाएमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. टिएन योगी चुनाव लड्नेछन ।
नेकपा एमाले भित्र भने कांग्रेसमा जस्तो विवाद सतहमा आएको छैन । सुर्खेत एमालेभित्र टिकटको छलफल सुरु हुँदा पहिलो नजर एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलतिरै सोझिनेछ । उनले चुनाव कता लड्ने भन्ने मुड बनाईनसकेको उनी निकट कार्यकर्ताहरु वताउछन ।
एमाले जिल्ला कमिटी सदस्य एवम् वीरेन्द्रनगर नगर कमिटीका ईन्चार्ज डम्मर तिवारी टिकटको पहिलो दाबी नेता कँडेलबाटै सुरु हुने बताउछन । त्यसपछि अन्य नेताहरुको वारेमा छलफल हुने उनी स्वीकार्छन् ।
कँडेलले प्रदेश लड्ने मुड बनाए एमाले सुर्खेत २ (क) भित्र अन्यको वारेमा छलफल बन्द हुनेछ । २ ख मा ताराकेशर गौतम, धिरवहादुर शाही र ईन्द्र केसीका बीचमा छलफल हुनेछ । गठवन्धन भएमा र कांग्रेस भित्र सहमति भएमा एमालेले जित्ने आस मारेको ठाउँमा यसै क्षेत्रलाई लिईनेछ ।
एमाले केन्द्रीय सदस्य नवराज रावतले यसपटक टिकट वार्गेनिङ् गरेर समानुपातिक सिट सुरक्षित गर्न खोजेका छन् । उनको भित्री मनसाय प्रत्यक्ष चुनाव लड्ने छैन । प्रदेश या प्रतिनिधि सभामा ल्याईदिने नेताहरूले वचन दिएमा त्यसलाई स्वीकार्ने मुडमा रावत भएको उनी निकट कार्यकर्ताहरुले बताउँने गरेका छन् । यस्तो अवस्थामा सुर्खेत २ वाट एमालेबाट जिल्ला अध्यक्ष अमृतकुमार विसी र उपाध्यक्ष कुलमणि देवकोटा मध्ये एकले चुनाव लड्ने अवसर पाउनेछन ।
यसरी हेर्दा सुर्खेत १ मा वर्तमानमा सांसद धुर्वकुमार शाही निर्विकल्प जस्तै देखिन्छन् । उनको अनुकूल एमालेका सबै कमिटीहरु भएकोले उनको नाममा टिकट सिफारिसमा कहिकतै झमेला हुनेछैन । एमाले प्रदेश कमिटी सदस्य डण्डिप्रसाद शर्माले टिकट पाउन प्रयास गर्नेछन् । शाही आफु अनिच्छुक भए उनले जिल्ला सचिव कविन्द्रकुमार केसीलाई अघि सार्न सक्ने पनि अनुमान गरिएको छ । सुर्खेत १ (क) मा ठम्मर बिष्ट स्वभाविक दाबेदार देखिएका छन । उनीसँगै एमाले नेता कविन्द्रकुमार केसी र टेकेन्द्रकुमार वस्नेत प्रदेश सभाका लागि टिकट लिन अघि सर्नेछन । सुर्खेत २ (ख) मा प्रदेश सभा सदस्य खड्कवहादुर खत्रीलाई चुनौति दिने व्यक्ति एमाले भित्र अहिलेसम्म देखिएको छैन ।
एमालेले गठवन्धन हुँदापनि सुर्खेतका २ (ख) वाहेक अन्यत्रका ३ सिटमा प्रतिस्पर्धाका बीच विजयी हुने हिसाब निकालेको छ । एमाले प्रदेश ईन्चार्ज कँडेलले पार्टी कार्यकर्ताहरु बीच केही दिन अघि भएको एउटा कार्यक्रममा सुर्खेतका ३ वटा प्रदेश सभाका सिटमा एमाले सजिलै विजयी हुने सुनाएको एक एमाले कार्यकर्ता वताउँछन ।
चुनाव नजिकिँदै गर्दा केन्द्रमा राप्रपासंग सहकार्य या गठवन्धन वन्दा एमालेले स्वभाविक रुपमा प्रदेश २ (ख) राप्रपाका लागि छाड्न सक्नेछ । राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी समानुपातिक सिटमा जान चाहेमा त्यसको चिठ्ठा राप्रपा जिल्ला अध्यक्ष कविराम पुरीलाई पर्नेछ ।