सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलन उत्कर्षमा पुगेको बेला सुरक्षाको अभावका कारण आफू कपासेस्थित नेपाली सेनाको व्यारेकमा बस्नुपरेको बताएका छन्। आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले २४ गतेको घटनाक्रम सम्झिँदै यहाँ आन्दोलनकारीभन्दा पनि सुरक्षाकर्मी धेरै भए पनि उनीहरूले सुरक्षा दिन नसकेको बताए ।
‘यहाँ आन्दोलनकारीभन्दा पनि सुरक्षाकर्मी धेरै थिए । तर पनि सुरक्षाकर्मीहरुले सुरक्षा दिन सक्नुभएन् ।,’ मुख्यमन्त्री कँडेलले भने, ‘सुरक्षाकर्मीहरुले सुरक्षा दिन नसकेपछि आफु बेलुका ५ बजेपछि कपासेस्थित नेपाली सेनाको व्यारेकमा एकसरा कपडा लिएर बसे ।,’ उनका अनुसार राजधानी काठमाडौंस्थित सिंहदरबार, संसद भवन र शीतल निवासलगायतका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएपछि कर्णालीमा पनि सुरक्षा प्रणाली कमजोर बनेको आरोप लगाए ।
मुख्यमन्त्री कँडेलले जेन–जी आन्दोलन मूल उद्देश्यभन्दा फरक दिशामा प्रयोजन गरिएको बताए । जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायमार्फत सजाय दिने प्रावधान रहे पनि व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको उनको दाबी छ । मुख्यमन्त्री कँडेलले आन्दोलनमा व्यक्ति विशेष र पार्टी विशेषलाई लक्षित गर्ने प्रवृत्ति देखिएको आरोप लगाए ।
उनले घटनामा सबैभन्दा बढी क्षति कर्णाली प्रदेश सभा र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा भएको जानकारी दिए । कँडेलले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो भए समाज स्वतः बलियो हुने टिप्पणी गर्दै प्रदेश मातहतका कार्यालयहरूले आन्दोलनको बहाना नबनाई बजेट कार्यान्वयनको काम अघि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले आफ्नो घरमा अज्ञात समूहले आगजनी, तोडफोड र लुटपाट गरेको दाबी गर्दै क्षतिको मूल्यांकन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिने तयारी गरेको बताए ।