सुर्खेत । संरचनागत रूपमा देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल सुर्खेतमा कर्मचारीहरूको रुखो व्यवहार र सेवामा देखिएको बेथितिप्रति सेवाग्राहीहरू असन्तुष्ट बनेका छन्। बिहीबार जेनजी समूहले यही विषयमा अस्पताल प्रशासनसँग छलफल गर्दै पाँच बुँदे सहमति गरेको छ।
अस्पतालका तर्फबाट निर्देशक डा. गणेश थापा र जेनजी समूहका तर्फबाट प्रकाश खड्का र सुवास शाहीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार, इमर्जेन्सीमा आएका बिरामीहरूको अवस्थाअनुसार कागजी प्रक्रिया सहजीकरण गरी सेवा थप व्यवस्थित गर्ने, कर्मचारीहरूको व्यवहार सुधार गर्ने निर्णय गरिएको छ।
यस्तै अस्पतालमा टोकन प्रणालीलाई डिजिटलाइज गर्न आवश्यक प्रक्रिया अघि बढाउने, हरेक शौचालय सफा र व्यवस्थित गर्ने तथा अस्पताल परिसरमा रहेको पार्किङ समस्या १५ दिनभित्र समाधान गर्ने र जेनजी समूहका युवाहरूले सहमतिअनुसार सुधार नआएमा पुनः कडा रूपमा आवाज उठाउने चेतावनी दिएका छन्।