समाचार सारांश
- डोल्पाको ठूलोभेरी नगरपालिकाले ‘जनतासँग मेयर’ कार्यक्रम अन्तर्गत फाइबर सिरक र च्यावनप्राश वितरण गरिएको छ ।
- करिब १४ लाख बजेटमा हिउँदको कठोर मौसम र स्वास्थ्य जोखिमलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गरिएको हो ।
- ६८ वर्ष माथिका करिब १०५ जना ज्येष्ठ नागरिकलाई राहत स्वरुप फाइबर सिरक र च्यावनप्राश वितरण गरिएको हो ।
डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिकाले ‘जनता सँग मेयर’ कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक र ‘क’ वर्गमा पर्ने लक्षित वर्गका नागरिकहरूलाई न्यानोपूर्ण सहयोग वितरण गरेको छ। पालिकाले आइतवार वडा नम्बर ७, ८ र ९ मा ६८ वर्ष माथिका करिब १ सय ५ जना ज्येष्ठ नागरिक सहित ‘क’ वर्गका पर्ने लक्षित वर्गका व्यक्तिहरूलाई फाइबर सिरक र च्यावनप्राश वितरण गरिएको ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्वबर्ण कुमार बूढाले जानकारी दिए।
नगर प्रमुख बुढा तथा सम्बन्धित वडाका वडाध्यक्षहरूको उपस्थितिमा पालिकाको केन्द्रमै उपस्थित गराएर प्रत्यक्ष रूपमा ज्येष्ठ नागरिकलाई वितरण गरिएको नगर प्रमुख बुढाले बताए। ‘अहिले पायक पर्ने केही वडाका ज्येष्ठ नागरिकलाई पालिकामै उपस्थित गराएर वितरण गर्यौ, उनले भने, ‘अन्य वडाहरूमा भने प्रत्येक गाउँ गाउँमा पुगेर वितरण गरिने छ।,’
मेयरसँग जनता कार्यक्रम अन्तर्गत करिब १४ लाख बजेटमा पालिकाले यो अभियान हिउँद याममा ज्येष्ठ नागरिकले भोग्ने कठोर मौसम, स्वास्थ्य जोखिम र हेरचाहका आवश्यकतालाई ध्यानमा राखेर न्यानो हुने फाइबर सिरक र च्यावनप्राश वितरण गरिएको जनाएको छ । जाडोमा जिउँ जोगाउने न्यानो सामग्री र स्वास्थ्य उपयोगी पौष्टिक उत्पादन समयमै पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमलाई प्रभावकारी र सराहनीय पहलका रूपमा लिएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताए।