२०८३ असार १० , बुधबार

बारेकोटको स्थानीय मेलामा गोली प्रहार : एक जना घाइते



जाजरकोट । जाजरकोटको बारेकोटमा गोली प्रहारबाट एकजना घाइते भएका छन् । बारेकोट गाउँपालिका–६ स्थित कार्की जिउलामा जारी स्थानीय मेलाबाट घर फर्किने क्रममा मंगलबार राति भएको गोली प्रहारबाट बारेकोट ७ का ३४ वर्षीय यमराज सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

ढाडमा गोली लागेर घाइते भएका सिंहलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो । त्यता पनि उपचार सम्भव नभएपछि उनलाई राति नै थप उपचारको लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै भेरी अस्पताल र पछि न्युरो अस्पताल नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुधिन कुमार खड्काले जानकारी दिए।

उनका अनुसार घाइते सिंहको अवस्था माध्यम रहेको छ। प्रहरीले उक्त घटनापछि अनुसन्धानको क्रममा गोली प्रहार गरी फरार रहेका सोही वडाका ३२ वर्षका टेकेन्द्र नेपाली पक्राउ परेका छन् । उनलाई आफ्नै घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको निरीक्षक खड्काले जानकारी दिए।। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार