सुर्खेत । उपल्लो डोल्पामा निरन्तर भइरहेको बाक्लो हिमपातले जनजीवन कठ्यांग्रिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा करीब २०/२५ दिनदेखि लगातार हिउँ परिरहेपछि अत्यधिक चिसो बढेको र दैनिक जीवनयापन समेत प्रभावित भएको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार हिमपातका कारण गाउँपालिकाभित्रका वृद्धवृद्धा, महिला तथा बालबालिकालाई बढी समस्याको सामना गर्नुपरेको छ । करिब २ फिटभन्दा बढी हिउँ जमेकाले स्थानीयको आवतजावत, दैनिक कामकाज तथा साना–ठूला सेवा–सुविधा सबै अवरुद्धजस्तै बनेका छन् । लगातारको हिमपातले गर्दा कार्यालयहरूमा पुग्न समेत कठिनाइ भएको उनले बताए ।
हिमपातकै कारण गाउँपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरूको पठनपाठन पूर्णरूपमा बन्द भएको छ भने सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएकाे छ । अध्यक्ष गुरुङले यस वर्ष गत वर्षको तुलनामा केही समय अघि नै हिउँ परेको उल्लेख गर्दै यसले गृहपशुदेखि मानवीय जीवनसम्ममा प्रत्यक्ष असर पारेको बताए ।