२०८३ साउन २४ , आइतबार

बराहतालका ७५ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा ‘एक घर–एक धारा’ कार्यक्रमअन्तर्गत करिब ७५ प्रतिशत घरधुरीमा धारा जडान कार्य सम्पन्न गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरका अनुसार आफू निर्वाचित भएयता खानेपानी सेवामा निरन्तरता दिँदै उल्लेख्य प्रगति हासिल गरिएको हो। गाउँपालिकाले खानेपानीको पहुँच नपुगेका बस्तीहरूमा समेत पाइपलाइन विस्तार गरेर पानी वितरणलाई तीव्र बनाएको छ।

उपाध्यक्ष मगरका अनुसार भूमिहीन, सुकुम्बासी तथा लालपुर्जा नपाएका स्थानीयहरूलाई लालपुर्जा वितरणको प्रक्रिया समेत सुरु गरिएको छ। “जनताले वर्षौँदेखि प्रतिक्षा गरेको लालपुर्जा अब हातमै पुग्नेछ,” उनले भनिन् । उनले गाउँपालिकामा पूर्ण विद्युतीकरण अभियान अन्तर्गत करिब ७५ प्रतिशत काम सकिएको बताइन्।

यस्तै सबै वडामा विद्युत् विस्तार भइरहेकाले छिट्टै सम्पूर्ण पालिका उज्यालो हुने उपाध्यक्ष मगरको दाबी छ। शिक्षामा देखिएको भौतिक पूर्वाधारको अभाव सम्बोधन गर्न गाउँपालिकाले सबै विद्यालयमा टिनको छाना मर्मत कार्य सम्पन्न गरेको उनको भनाइ छ। युवामुखी कार्यक्रमलाई प्राथमिकता दिंदै खेलकुद, लागुऔषध नियन्त्रण तथा दुर्व्यसनी निवारण अभियानका लागि करिब १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै, पालिकाका सबै वडामा सडक स्तरोन्नति कार्य निरन्तर जारी रहेको छ। प्रशासकीय भवन निर्माण, योजना सम्झौता सम्पन्न, तरङ्गा स्वास्थ्य चौकी तथा तेलपानी बर्थिङ सेन्टरको निर्माण सम्पन्न भएर सेवामार्फत स्थानीयबासी लाभान्वित भएको उपाध्यक्ष मगरको भनाइ छ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार