सुर्खेत । वीरेन्द्रनगरमा एक जना बालिका मृत अवस्थामा फेला परेकी छन् । शुक्रवार दिउँसो करिब २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ सुब्वाकुना सल्लाघरी जंगलमा चिङ्गाड गाउँपालिका वडा नम्बर २ रानीबास तल्लो रहकुल कि १९ वर्षिय नन्दा परियार झुन्डिएको अवस्थामा फेला परेकी हुन् । परियार फागुन १५ गतेदेखि हराएको भएपनि शुक्रवार सल्लाघरी जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए । फेला परेकी परियारको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।
कसरी घट्यो घटना ?
सुर्खेत चिङ्गाड गाउँपालिका वडा नम्बर २ मा बसोवास गर्ने परियार सुर्खेतको वीरेन्द्रनगरमा १२ कक्षामा अध्ययनरत थिइन् । उनी हाल वीरेन्द्रनगरमा मामाको घरमा बस्दै आएको उनका एक आफन्तले जानकारी दिए । प्रहरी स्रोतका अनुसार मृतकको एकजना केटासँग प्रेम सम्बन्ध रहेको पीडितका आफन्तले जानकारी दिएका छन् । उनीहरु दुवै जना नेपाली सेनामा भर्ना हुनका लागि तयारी गरिरहेको खुलेको छ ।गत फागुन १५ गते बिहान सात बजेको समयमा मृतकले उनको प्रेमी भनिने केटालाई फोन गरेको तर केटाले आफुलाई फोन नगर्न आग्रह गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको प्रहरी स्रोतले बतायो । यता, चिङ्गाड गाउँपालिका वडा नम्बर २ का वडा सदस्य तिलक बहादुर रानाले उक्त केटाले फागुन १३ गते मात्रै केटीलाई फोन नगर्न आग्रह गरेको आफुले सुनेको बताए । उनका अनुसार उनी मामाको घरबाट १५ गते साथीकोमा जान्छु भनी बेपत्ता भएपछि खोजी गर्दा सुब्बाकुनाको सल्लाघरी जंगलमा फेला परेकी हुन् । मृतक परियारको साथमा दुईवटा मुसा मार्न प्रयोग हुने औषधी समेत फेला परेको थियो । मृतकले एउटा खाएको र अर्काे गोजीमा राखेको प्रहरीले बताएको छ ।
आरोपी केटा के भन्छन् ?
प्रहरीलाई उक्त केटाले मृतकको आफुसँग त्यति नजिकको सम्बन्ध नभएको दाबी गरेका छन् । उनले प्रहरीलाई दिएको सुरुवाती बयानमा मृतकसँग वीरेन्द्रनगर बसपार्कमा भेट भएको जानकारी दिएका छन् । उनले आफुलाई धेरैपटक फोन गर्ने गरेको भएपनि आफुले उनलाई वास्ता नगरे्को बताए । तर उनले यो घटना कसरी घट्यो भन्ने वारेमा अनविज्ञता प्रकट गरे । उनले प्रहरीसँग आफुले साथी भनेर मृतकसँग कुरा गरेको जिकिर गरेका छन् । उनले आफुले नेपाली सेनाको परीक्षाको तयारी गरेको हुँदा केही दिन आफुलाई फोन नगर्न आग्रह गरेको बताए । वडा सदस्य रानाले केटीले त्यो केटालाई १३ गते नै फोन गरी आफु मर्छु भनेको केटाले आफुलाई जानकारी गराएको बताए । उनले केटाले आफुलाई केही दिन अगाडि फोन गरी मृतकले मर्छु भनेको र आफुले सम्झाउँदा उल्टै गाली गलौज गर्दै आफुले आत्महत्या गर्ने निर्णयबाट पछि नहट्ने मृतकका मामालाई समेत जानकारी गराएको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले प्रहरीले घटनाको सुक्ष्म हिसावले अनुसन्धान प्रक्रियालाई तिव्र रुपमा अगाडि बढाएको जानकारी दिए । उनले पीडित पक्षले शनिवार किटानी जाहेरी दिएको बताए । शाहीले भने, ‘हामीले आरोपित केटालाई सोधपुछ गर्दा आफु उनीसँग कुनै पनि प्रेम सम्बन्धमा नभएको दाबी गरेका छन् ।’ पछिल्लो समय खासगरी युवायुवतीहरुमा आत्महत्या गर्ने दर बढ्दै गएको देखिन्छ । आफुले भनेको हुनैपनै जिद्दी स्वभावले गर्दा आत्महत्या जस्तो जघन्य निर्णय लिने गरेका छन् । प्रेममा पर्दा हुने धोका सहन नसकेर युवायुवतीहरुले आत्महत्याको बाटो रोज्ने गरेका पाइएको छ ।